पोखरा : गोरखामा खानेपानीका विभिन्न योजनाहरू विधि–विपरीत, निश्चित व्यक्तिको लाभ हुनेगरी कार्यान्वयन भएको भन्दै सरोकारवालाले गम्भीर आपत्ति जनाएका छन्। सुशासनप्रेमी युवाहरूले बुधबार एक ध्यानाकर्षणपत्र बुझाउँदै अनियमित गतिविधि तुरुन्त रोक्न चेतावनी दिएका हुन्।
उनीहरूले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गोरखाका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै चालू आर्थिक वर्ष २०८२/८३ का योजनामा सार्वजनिक खरिद ऐनको मर्म विपरीत काम भइरहेको आरोप लगाएका छन्। निर्माण व्यवसायी विष्णुकुमार श्रेष्ठसहित सरोकारवाला समूहले योजनाहरूलाई टेन्डर प्रक्रियाबाट बचाउन टुक्रा–टुक्रा पारिएको, उपभोक्ता समितिमार्फत गुपचुप ढंगले काम अघि बढाइएको दाबी गरेका छन्।
ध्यानाकर्षणपत्रमा उपभोक्ता बीच छलफल नगरी, डिटेल स्टिमेट बिना, हचुवाका भरमा योजना अघि बढाइएको उल्लेख छ। “वास्तविक उपभोक्तालाई जानकारी नदिई सीमित व्यक्तिलाई लाभ पुग्ने गरी योजना बाँडफाँड गरिएको छ, यो सेटिङ हाम्रो लागि स्वीकार्य छैन,” पत्रमा भनिएको छ।
उनका अनुसार नेपाल सरकारले रोक्का गरिसकेका योजनामा समेत जबरजस्ती काम अघि बढाई बजेट खर्च देखाउने कार्य भएको छ, जसले राज्यको स्रोत दोहन भएको गुनासो छ। सरोकारवालाले चेतावनी दिँदै भनेका छन्— “विधि र प्रक्रिया नमानिने यो प्रवृत्ति दोहोरिए कडा सङ्घर्षमा उत्रिनेछौँ।”
यसैबीच, कार्यालयका प्रमुख तुलसी श्रेष्ठले भने आरोप निराधार भएको दाबी गरेका छन्। “न्यून बजेट भएका साना योजना उपभोक्ता समितिमार्फत नै सञ्चालन भइरहेका हुन्,” उनले बताए। रोक्का योजनाबारे उठेका प्रश्नमा उनले भने— “रोक्का भएको भनिएका योजना संघ सरकारले हेर्ने हो, प्रदेश मातहतका कुनै पनि योजना रोक्का छैनन्, सबै कार्यान्वयन चरणमै छन्।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij