Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

आज धान्यपूर्णिमा, नेवार समुदायको योमरी पुन्हि, किरात उधौली मनाउँदै

आज धान्यपूर्णिमा, नेवार समुदायको योमरी पुन्हि, किरात उधौली मनाउँदै

काठमाडौँ : मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। विभिन्न समुदायमा फरक–फरक नामले बिहीबार यो पर्व मनाइँदैछ।सनातन समाजमा यो पर्धावन्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा  छ। यो दिन धानको भकारीमा पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ।

नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवीदेवतालाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ। विशेषगरी पहाडी भेगमा आज गोठपूजा (गोठधुप) गर्ने चलन छ। गोठ सफासुग्घर गरी गाईबस्तुको विशेष पूजा गर्ने चलन छ।

कतिपय समुदायमा यो दिन  कुलदेवताको पूजा गर्ने चलन छ। स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ। कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाइन्छ।

नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र चामलको पिठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा पनि कतिपय समुदायमा  छ। कतिपय स्थानमा कुलदेवताका पूजामा पशुबलि पनि दिइन्छ।

नेवार समुदायमा थिन्ला पुन्हि वा ‘योमरी पुन्हि’का रूपमा यो पर्वको महत्त्व छ। अघिल्लो दिनदेखि घर र शरीर शुद्ध गरी योमरी पकाउने चलन छ। लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ। धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ।

लिम्बू जातिमा बाली भित्र्याएपछिको ‘न्वागी’ खाने पर्वको रूपमा मंसिरे पूर्णिमा मनाइन्छ। किरात समुदायका कतिपय जातजातिमा आज प्रकृति, पितृ र कुलदेवताको पूजा गर्ने चलन छ। उधौली किरात समुदायको मुख्य चाड हो।

यस्तै लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरुले चासुवा र सुनुवारहरूले फोलष्याँदर मनाउँछन्।

गुरुङले सिमेभूमेको पूजा गर्ने न्वागी खान्छन्। पूर्वका थारूहरूले नेमान गर्ने, आँगनको ध्वजा फेर्ने र छोराको ‘वर्तमन’ गर्ने गर्छन्। धानको च्युरा बनाएर सख्खर मिसाएर लड्डु बनाई देउतालाई चढाउने र नेमानमा पूजा गर्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट