म्याग्दी : अन्नपूर्ण गाउँपालिका–८ स्थित आलडाँडा पदयात्राका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ। करबाकेली इको ट्रेकको हिस्सा रहेको आलडाँडा हुँदै घोडेपानी र पुनहिल जाने पदयात्रामा पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएको छ।
सुन्दर प्राकृतिक दृश्य र हिमालको नजिकबाट अवलोकन गर्न सकिने दृश्यहरूले आलडाँडालाई विदेशी पर्यटकको रुचिमा पारेको छ। यहाँबाट गुर्जा, धवलागिरि, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। आलडाँडा समुद्री सतहदेखि २६२० मिटरको उचाइमा पर्दछ।
पर्यटक र पदयात्राका लागि उत्कृष्ट गन्तव्य भएको बताउँदै पर्यटनकर्मी चित्र तिलिजाले भने, “आलडाँडा पुनहिल, घोडेपानी, मोहरेडाँडा र खोप्रा खयरलेक नजिक पर्ने भएकाले ट्रेकमा आकर्षण थपिएको छ।” हालै कोरियन पर्यटकसहित ३७ जनाको समूह नागीदेखि आलडाँडा हुँदै फुलबारी–घोडेपानी पुगेको छ।
स्थानीय व्यवसायी भक्तबहादुर पुनका अनुसार, आलडाँडामा पर्यटकको सुविधाका लागि २० जनाको क्षमता भएको हिमालयन भ्यू एन्ड गेस्टहाउस तीन वर्षअघि सञ्चालनमा आएको छ। आलडाँडामा गुराँसको जंगल, विभिन्न वनस्पति, जडिबुटी, वन्यजन्तु र पन्छीहरूको अवलोकन गर्न सकिन्छ।
करबाकेली इको ट्रेक र अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा पर्ने आलडाँडा, करबाकेली, राम्चे, नागी, मोहरेडाँडा, कालीदह, फुलबारी, पुनहिल, घोडेपानी, प्यारीबाराही र टिकोट क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij