काठमाडौँ : ११औँ महाधिवेशन प्रतिनिधि छनोटका क्रममा देखिएको विवाद मिलाउने जिम्मा एमालेले सम्बन्धित प्रदेश कमिटीलाई नै दिएको छ । सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले अन्तर्विरोध देखिएका क्षेत्रको विवाद मिलाउने जिम्मा प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज र केन्द्रीय सङ्गठन विभागले खटाएका सदस्य (प्रतिनिधि) लाई दिइएको जानकारी दिए ।
‘अन्तर्विरोध देखिएका स्थानमा सोही प्रदेशका इन्चार्ज, जिल्ला इन्चार्ज र सङ्गठन विभागबाट खटाइएका प्रतिनिधिले सहजीकरण गरेर मिलाउन जिम्मा दिइएको छ’, ढुङ्गेलले भने, ‘कतिपय स्थानमा मिलिसकेको छ भने कतिपयमा आज बेलुकासम्म मिलिसक्छ ।’
सचिव ढुङ्गेलका अनुसार सुदूरपश्चिमको बझाङमा प्रतिनिधिको दोहोरो समस्या देखिएको थियो भने कर्णालीको दैलेख र सल्यानमा प्रतिनिधि चयनका विषयमा केही समस्या देखिएको थियो । ‘कर्णालीको समस्या टुुगिसक्यो, मधेसको पर्सा र रौतहट तथा गण्डकीको तनहुँ क्षेत्र नम्बर १ मा केही समस्या देखिएपनि मिलाउने क्रम जारी छ’, ढुङ्गेलले भने, ‘कोशीमा ओखलढुङ्गा र धनकुटाको विवाद मिलाउने काम भइरहेको छ ।’
नेकपा एमालेले मङ्सिर १३ गते देशभर प्रतिनिधि छनोट गरेर मङ्सिर १५ भित्र छनोट भएका प्रतिनिधिको नाम केन्द्रमा पठाउन सर्कुलर गरेको थियो । तर, केन्द्रको सर्कुलर अनुसार प्रतिनिधिहरूको नाम तोकिएको समयमा केन्द्रमा आइसकेको छैन ।
‘प्रदेश प्रदेशमै छनोट भएका प्रतिनिधिहरूको नाम सेन्टर कलेक्सन प्रदेशमै भइरहेको छ’, सचिव ढुङ्गेलले भने, ‘प्रदेशहरूमा जम्मा भइसकेपछि बुधबारभित्र केन्द्रमा आउँछ ।’ ढुङ्गेलका अनुसार सात भूगोलसहित ९ प्रदेशका कार्यालयमा प्रतिनिधिको नाम कलेक्सन र डाटा अपडेटिङको काम भइरहेको छ । ‘प्रदेश कार्यालयमा तलबाट आएका निर्णयका आधारमा सेटअप र फरमेटिङ गर्ने काम भइरहेको छ । त्यो काम सकिएपछि मात्र केन्द्रमा प्रतिनिधिहरूको नाम आइपुग्छ’, ढुङ्गेलको भनाई छ ।
एमाले महाधिवेशन मङ्सिर २७ देखि २९ सम्म हुँदैछ । महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूह नै बनाएर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij