काठमाडौँ : ‘प्रगतिशील राष्ट्रिय अभियान’का संयोजक जनार्दन शर्मा ‘प्रभाकर’ले पुराना राजनीतिक दलहरूबाट अब देश बन्ने आशा गर्नु मूर्खता हुने टिप्पणी गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै शर्मा पुराना दल र नेतृत्वको तीव्र आलोचना गरेका छन्। उनले नेतृत्वको असक्षमता र स्वार्थका कारण देश पतनको बाटोमा गएको भन्दै अब नयाँ संकल्पसहित एकताबद्ध हुन आह्वान गरे।
शर्माले २०६२ मंसिर ५ गते भएको शान्ति सम्झौताले राजतन्त्रको अन्त्य, गणतन्त्र, संघीयता र समावेशी संविधानको आधार तयार गरेको स्मरण गर्दै भने, “तर १९ वर्ष बितिसक्दा पनि जनताले अपेक्षा गरेको परिवर्तन महसुस गर्न सकेका छैनन्। भ्रष्टाचार बढेको छ, सुशासन टाढा भएको छ, सामाजिक न्याय पूरा भएको छैन, युवाले अवसर पाएका छैनन् र द्वन्द्वपीडितले न्याय पाएका छैनन्।”
उनले पुराना दलका नेतृत्वहरू व्यक्तिगत स्वार्थ सिद्धिका लागि देशलाई पतनको बाटोमा लैजानु मुख्य चुनौती भएको आरोप लगाए। शर्मा भने, “जनताले पटक-पटक मौका दिँदा पनि झन्-झन् गल्ती गर्ने दलबाट फेरि आशा गर्नु मूर्खता हुनेछ।”
शर्माले अब पुराना दलभित्र परिवर्तन चाहने नेता-कार्यकर्ता र नयाँ पुस्ताबीच एकताको आवश्यकता औँल्याउँदै २०८२ को नवयुवा (जेन–जी) विद्रोहका पक्षधरहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij