काठमाडौँ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा विशेष महाधिवेशन हुन नदिने बताएका छन्।
शुक्रबार संस्थापन समूहका २५ केन्द्रीय सदस्यसँगको भेटमा खड्काले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै बुझाएको हस्ताक्षरको भेरिफिकेसन गरेर विशेष महाधिवेशन हुने अवस्था आउन नदिने बताएका हुन्।
भेटमा सहभागी केन्द्रीय सदस्य उदय शमशेर राणाले खड्काले भने, “पार्टीमा अल्पमत बहुमतको अवस्था आउन नदिई सहमतिबाट अगाडि बढ्ने वातावरण निर्माण गर्ने प्रयास गरिरहेको छु।”
संस्थापन समूहका सदस्यहरूले केही दिन अघि पार्टी केन्द्रीय कार्यालयमा ७ बुँदे माग दर्ता गराएका थिए। उनीहरूले खड्कालाई चेतावनी दिएका थिए कि विशेष महाधिवेशनको अवस्था आएमा पार्टी विभाजन हुनसक्ने छ।
खड्काले जवाफमा पार्टीलाई फुटको अवस्थामा पुग्न नदिने र सकभर सहमतिमा अगाडि बढाउने प्रतिबद्धता जनाएका भेटमा सहभागी नेताहरूले बताएका छन्।
पार्टीमा पछिल्लो समय देखिएको महाधिवेशन विवादको समाधानका लागि १५ औँ महाधिवेशन मङ्सिरमा सुरु गर्ने र पुस मसान्तसम्म सक्ने प्रस्ताव पनि खड्कालाई जानकारी गराइएको थियो। भेटपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि पार्टीलाई फुटको अवस्थामा पुग्न नदिने र मिलाएर अगाडि बढ्ने प्रयास गरिरहेको बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij