काठमाडौँ : नेपाल सरकारका पूर्व मुख्यसचिव शंकरदास बैरागीले भिजिट भिसाको दुरुपयोग बढ्नुको मुख्य कारण वैदेशिक रोजगार प्रक्रियामा रहेको जटिलता र अप्ठ्याराहरू रहेको बताएका छन्।
शुक्रबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बैरागीले भने, “वैदेशिक रोजगारको प्रक्रिया जति जटिल हुँदै जान्छ, त्यति नै मानिसहरूले भिजिट भिसा जस्तो चोर बाटो अपनाउने गरेका छन्।”
पूर्व मुख्यसचिवले अध्यागमन प्रणालीमा रहेको त्रुटि औंल्याउँदै भने, “वैदेशिक रोजगारको प्रक्रिया सहज र सरल हुँदा भिजिट भिसाको प्रयोग घट्छ, तर प्रक्रिया जटिल हुँदा यसमा चाप बढ्छ।”
उनका अनुसार, द्वन्द्वग्रस्त मुलुकहरू (अफगानिस्तान, इराक, लिबिया) मा काम गर्ने नेपालीहरूले श्रम स्वीकृति नपाउँदा युएई जस्ता ट्रान्जिट मुलुकमा भिजिट भिसाको सहारा लिन बाध्य छन्। युरोपमा कामका लागि वर्किङ भिसा पाइसकेका नेपालीहरूले समेत कहिलेकाहीँ यही बाटो अपनाउनुपर्ने अवस्था छ।
खाडी मुलुकमा घरेलु कामदारका रूपमा जान सरकारले लगाएको प्रतिबन्धका कारण महिलाहरूले अवैध बाटो अपनाउने गरेका छन्। एजेन्टमार्फत काम पाएको भए पनि श्रम स्वीकृति नपाइने हुँदा कतिपयले भारत वा अन्य देश हुँदै भिजिट भिसामा खाडी मुलुक पुग्ने गरेका छन्।
बैरागीले सबैभन्दा ठूलो समस्या म्यानपावर एजेन्सीहरूमा रहेको औँल्याए। उनले बताए, “एजेन्सीहरूले पाएको कोटाको आधा हिस्सा मात्रै दूतावासले प्रमाणीकरण गर्छ, बाँकी कामदारलाई प्रक्रियाबाहिरबाट भिजिट भिसामा पठाउने गरिएको छ।”
उनी नेपालमा अध्यागमन प्रणालीमा पनि सुधार आवश्यक रहेको बताए। विश्वका अन्य देशहरूले आगमनमा बढी कडाइ गर्ने भए पनि नेपालमा आफ्नै नागरिकको बहिर्गमनमा बढी निगरानी र नियन्त्रण हुने प्रवृत्ति रहेको उनले बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij