Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

शान्ति सम्झौताको मर्म र ‘जेनजी’ युवाका आवाज एउटै छन्, त्यसलाई पूरा गरौँ : संयोजक दाहाल

शान्ति सम्झौताको मर्म र ‘जेनजी’ युवाका आवाज एउटै छन्, त्यसलाई पूरा गरौँ : संयोजक दाहाल

काठमाडौँ  :  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा विस्तृत शान्ति सम्झौताले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ।

विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष पुगेको अवसरमा जारी सन्देशमा दाहालले सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्दा पूरा नभएसम्म जनयुद्ध र शान्ति सम्झौताको मर्म अधुरै रहने बताउनुभएको छ। उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासहित सबै हस्ताक्षरकर्तालाई स्मरण गर्दै सम्मान व्यक्त गर्नुभएको छ।

दाहालले भने, “नयाँ एकीकरण र ध्रुवीकरणबाट बनेको नेपाली कम्युनिष्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी बहन गर्दै बाँकी कार्यभार पूरा गर्न कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछु।”

उहाँले शान्ति सम्झौताका मूल उद्देश्य समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना रहेको उल्लेख गर्दै अहिलेको युवा पुस्ता, विशेष गरी ‘जेनजी’, यही मूल्य, भावना र स्पिरिटसहित आवाज उठाइरहेको बताउनुभयो। “शान्ति सम्झौताको आत्माअनुरूप शासकीय प्रणाली, शासन सञ्चालन र संविधानमा आवश्यक परिमार्जन गर्न सके मात्र युवाको आकाङ्क्षा सम्बोधन हुन सक्छ भन्ने दृढ विश्वास छ।”

पूर्वप्रधानमन्त्री दाहालले विगतको समीक्षा गर्दै वर्तमान नेपाली समाजमा देखापरेका समस्याहरू समाधान गर्न सबै पक्षसँग एकताबद्ध प्रयासको अपिलसमेत गर्नुभएको छ। उहाँले न्याय, समानता र स्वतन्त्रताका लागि बलिदान गर्ने सम्पूर्ण सहिद, बेपत्ता योद्धा, घाइते, अपाङ्ग र उनका परिवारप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ।

नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक र क्षेत्रीय उत्पीडनको अन्त्य गर्ने उद्देश्यसहित तत्कालीन माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धलाई संस्थागत गर्दै सरकार र विद्रोही पक्षबीच २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट