काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड’ले विगतको गम्भीर समीक्षा गर्दै वर्तमान नेपाली समाजमा देखा परेका चुनौती र समस्याहरू समाधान गर्न सबै पक्षसँग एकताबद्ध प्रयासको अपिल गरेका छन्।
१९ वर्ष पुरा भएको विस्तृत शान्ति सम्झौताको अवसरमा जारी सन्देशमा प्रचण्डले भनेका छन्, “आजको एकीकृत नेपाली कम्युनिस्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी पूरा गर्दै बाँकी कार्यभार पूरा गर्न कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गर्दछु।”
प्रचण्डले शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना भएको बताउँदै थपे, “आजको युवा पुस्ता, विशेष गरी 'जेनजी', यही मूल्य, भावना र स्पिरिटका साथ आवाज उठाइरहेका छन्। शान्ति सम्झौताको आत्मा अनुरूप शासन सञ्चालन, शासकीय प्रणाली र संविधानमा आवश्यक परिमार्जन गर्दा मात्र युवाहरूको आकांक्षा सम्बोधन हुन सक्छ।”
नेपाली समाजमा युगौँदेखि विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक र क्षेत्रीय उत्पीडनको अन्त्य गर्ने उद्देश्यले अघि बढाइएको सशस्त्र द्वन्द्वलाई संस्थागत गर्दै तत्कालीन नेकपा (माओवादी) अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच भएको बृहत् शान्ति सम्झौता आज १९ वर्ष पुरा गरेको छ।
प्रचण्डले जनयुद्धले उठाएका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन असम्भव हुने समेत बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij