Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

सरकार, जेनजी र दललाई संयमित हुन नागरिक समूहको आग्रह

सरकार, जेनजी र दललाई संयमित हुन नागरिक समूहको आग्रह

काठमाडौं : नागरिक समूहले सरकार, जेनजी र दलहरू तीन वटै पक्षलाई संयमित हुन अपिल गरेको छ । बाराको सिमरामा उत्पन्न तनावपूर्ण घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नागरिक समूहले असजिला व्यवहारहरूले मुलुकलाई अनावश्यक संकटको दिशातर्फ धकेल्ने संकेत दिएको उल्लेख जनाएको छ ।

नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालले विज्ञप्ति निकालेर संयमित हुन अपिल गरेका हुन् । विज्ञप्तिमा राजनीतिक स्थायित्व र फागुन २१ गते तोकिएको निर्वाचनको तयारीको संवेदनशील चरणमा देखिएको पछिल्लो अराजनीतिक गतिविधिले देशको समग्र लोकतान्त्रिक प्रक्रियामै प्रतिकूल प्रभाव पारेको उल्लेख छ ।

सिमरा विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्रमै भएको भिडन्त, कर्फ्यू आदेश, संरचनाहरूमा क्षति, तथा दुवै पक्षबाट देखिएका असजिला व्यवहारहरूले मुलुकलाई अनावश्यक संकटको दिशातर्फ धकेल्ने संकेत दिएको पनि नागरिक समूहले उल्लेख गरेको छ ।

‘कुनै पनि समूह, दल वा युवा आन्दोलनबाट संवैधानिक हकमा हस्तक्षेप र हिंसात्मक आचरण स्वीकार्य हुन सक्दैन’ विज्ञप्तिमा भनिएको छ, ‘जेनजीको नाममा कुनै समूहले कुनै दललाई लक्षित गरी निषेधात्मक कदम चाल्नु लोकतान्त्रिक प्रतिस्पर्धामाथिको प्रहार हो । दलहरूले प्रतिवादका नाममा तनाव थप्ने काम गरेमा सुरक्षा अवस्था जटिल बन्ने मात्र होइन, संवेदनशील सुरक्षा परिस्थितिका कारण फागुन २१ मा शान्तिपूर्ण निर्वाचन गराउनु कठिन हुन्छ ।’

शान्तिपूर्ण निर्वाचन हुन नसके देश राजनीतिक शून्यतामा धकेलिन सक्ने त्यसको प्रतिकूल असर सबै पक्षले भोग्नुपर्नेतर्फ नागरिक समूहले सचेत गराएको छ । नागरिक समूहले सरकार, राजनीतिक दलहरू तथा जेनजी समूहलाई देशको शान्ति सुव्यवस्थामा खलल पुग्ने तथा चुनावी वातावरण बिग्रने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ । ‘सबै पक्षहरू संयमित हुन, संवादमार्फत समस्या समाधान गर्न र संवैधानिक मार्गप्रति प्रतिबद्ध रहन अत्यावश्यक भएको नागरिक समूहको ठहर छ’ विज्ञप्तिमा उल्लेख छ ।

चुनाव नै तोकिसकेको अवस्थामा राजनीतिक दलहरू विगतमा भन्दा बढी जनतामा जानु या राजनीतिक गतिविधि गर्नु स्वभाविक भएको उल्लेख गर्दै संवैधानिक हकप्रयोग गर्दै सभासम्मेलन गर्न, देशभर आवतजावत गर्न तथा विचार अभिव्यक्त गर्ने स्वतन्त्र छन ।

तर, चुनावी गतिविधि गर्दा दलहरू स्वयं पनि उक्साहट, भिडन्त र तनाव निम्त्याउने कार्यबाट अलग रहनुपर्ने नागरिक समूहको आग्रह छ । जेनजी युवाहरू पनि संविधानको ख्याल गर्दै लोकतान्त्रिक मूल्य र शान्तिपूर्ण अभिव्यक्तिकै बाटोमा हिँड्नुको विकल्प छैन ।

बदलाको भावना, हिंसा र निषेधले भदौ २३ र २४ को आन्दोलनले संविधानको रक्षा गर्दै प्राप्त गरेको सकारात्मक छवि नामेट हुन सक्नेतर्फ चनाखो हुन जेनजी समूहलाई आग्रह गरिएको छ । सरकार पनि आगामी फागुन २१ मै शान्तिपूर्ण र निष्पक्ष चुनाव सम्पन्न गर्ने ऐतिहासिक दायित्व पूरा गर्न गम्भीर बन्नुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट