Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

उपराष्ट्रपति यादव र यूएई राजदूत अल शम्सीबीच द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा चर्चा

उपराष्ट्रपति यादव र यूएई राजदूत अल शम्सीबीच द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा चर्चा

काठमाडौँ  :  उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत सईद मुबारक जर्वान अल शम्सीले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्।

शुभकामना आदान–प्रदानपछि भएको छलफलमा नेपाल–यूएई सम्बन्ध, उच्चस्तरीय भ्रमण, श्रम तथा आर्थिक सहकार्य, बहुपक्षीय समन्वयलगायत विषयमा विस्तृत संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

उपराष्ट्रपति यादवले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापित भएपछि दुई देशबीच मित्रता, सहयोग, विश्वास र समझदारीका आधारमा सम्बन्ध निरन्तर मजबुत बन्दै आएको उल्लेख गरे। २०२५ अप्रिलमा यूएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेइख अब्दुल्ला बिन जायेद अल नाह्यानको नेपालको राजकीय भ्रमणलाई ऐतिहासिक महत्वका रूपमा स्मरण गर्दै उनले यस्ता उच्चस्तरीय आदान–प्रदानले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

रमजानको अवसरमा २८६ नेपाली नागरिकलाई यूएई सरकारले दिएको आममाफीबापत उपराष्ट्रपति यादवले आभार व्यक्त गरे। उनले आइटी, इन्जिनियरिङ, स्वास्थ्य सेवा, होटल व्यवस्थापनलगायत क्षेत्रमा अर्ध–दक्ष तथा दक्ष नेपालीको माग बढ्ने संकेत देखिएको बताए। वैदेशिक रोजगार सुरक्षित, मर्यादित र सम्मानजनक बनाउन नेपाल प्रतिवद्ध रहेको पनि उनले प्रष्ट पारे।

दुवै देशबीच आर्थिक सहकार्य विस्तार गर्ने सम्भावना उच्च रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले पूर्वाधार, कृषि, स्वास्थ्य, स्वच्छ ऊर्जा, पर्यटन र खानेपानी जस्ता क्षेत्र नेपालका प्राथमिकता रहेको बताए। लगानी अनुकूल कानुनी तथा संस्थागत संरचना तयार गरिएकाले प्राथमिक क्षेत्रहरूमा विदेशी लगानीलाई नेपालले स्वागत गर्ने जानकारी पनि उनले राजदूतलाई गराए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट