काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका नेताहरूसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घन्टा भेटवार्ता गरेकी छन्।
भेटवार्तामा कांग्रेसका नेता देवराज चालिसे, गुरूराज घिमिरे, राजेन्द्र बजगाई, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा र सन्दीप निरौला सहभागी थिए।
प्रधानमन्त्री कार्कीले आगामी प्रतिनिधि सभा चुनाव (फागुन २१) सञ्चालन गर्नको लागि राजनीतिक दलसँग छलफल गर्दै निर्वाचनको वातावरण तयार गर्न सहकार्य आवश्यक रहेको बताएकी छिन्। भेटवार्तापछि नेता गुरूराज घिमिरेले सरकार समयमै चुनाव गराउन प्रतिबद्ध रहेको बताएका छन्।
नेता राजेन्द्र बजगाईका अनुसार प्रधानमन्त्रीले लोकतन्त्र, कानूनको शासन र निष्पक्ष चुनाव सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको कुरा दोहोर्याएकी छिन्। कांग्रेस नेताहरूले पनि समयमै चुनाव हुनुपर्छ भन्ने विषयमा सरकारसँग सहमति जनाएका छन्।
भेटवार्ता राजनीतिक दलहरूसँग चुनाव तयारी र वातावरण निर्माण सम्बन्धी छलफलको निरन्तरता रहेको बताइएको छ।