रुपन्देही : सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पेसी चढेको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा यो मुद्दा ३ नम्बरमा परेको छ। इजलासमा पहिलो मुद्दा सकिएर अहिले दोस्रो मुद्दा (लागु औषधसम्बन्धी) माथि बहस चलिरहेको छ। दोस्रो मुद्दा सकिएलगत्तै रविको मुद्दामा बहस सुरु हुनेछ।
रवि पक्षका एक कानुन व्यवसायी बाबुराम पाण्डेयले रातोपाटीसँग कुरा गर्दै बहसका लागि आफूहरू तयारी अवस्थामा रहेको बताएका छन्। उनले मुद्दाको पालो नआएकाले पर्खेर बसिरहेको जानकारी दिए।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा लामिछाने पुर्पक्षका लागि थुनामा छन्। सहकारीमा अपचलन गरेको भनिएको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो।
जिल्ला अदालतको सो आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij