Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

विदेशमा रहेका मतदातालाई मत हाल्ने व्यवस्था सुनिश्चित गर्न जेनजीको माग

विदेशमा रहेका मतदातालाई मत हाल्ने व्यवस्था सुनिश्चित गर्न जेनजीको माग

काठमाडौं : विदेशमा रहेका मतदाताहरूलाई पनि आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी गराउनुपर्ने लगायतका माग राखी जेनजी अभियन्ताले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन्। शुक्रवार काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा पुगेर उनीहरूले विदेशमा रहेका मतदातालाई पनि निर्वाचनमा भाग लिन पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै आयोग पदाधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्।

रोजगारीको खोजीमा विदेशिन बाध्य मतदातालाई निर्वाचनमा भाग लिने अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाइएको जेनजी अभियन्ता शिव यादवले बताए। उनले निर्वाचनको तयारीको बारेमा पनि आयोगसँग जानकारी लिइएको बताए।

यादवले भने- ‘रोजगारीको अभावका कारण धेरै युवा साथीहरू देश छोड्न बाध्य हुनुहुन्छ। अब आउने निर्वाचनमा विदेशमा भएका नेपाली नागरिकलाई पनि मतदानमा जसरी पनि सहभागी गराउनुपर्छ।’

जेनजी अभियन्ताले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउन पनि आयोगलाई सचेत गराएका थिए। यता कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेको मतदातालाई आगामी निर्वाचनमा सहभागी गराउन आयोग लागिपरेको बताए।

उनले निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका मतदातालाई सहभागी गराउने संवैधानिक अधिकार कार्यान्वयनमा ल्याउने गरी ऐनको मस्यौदा सरकारलाई बुझाएको र सरकारले त्यो चाँडै सम्बोधन गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट