काठमाडौँ : गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा मुलुकभर विभिन्न सरकारी तथा निजी भवनमा तोडफोड, लुटपाट र आगजनी भयो । साथै नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत दलका कार्यालय र ती पार्टीका नेता तथा कार्यकर्ताका निजी निवासमा समेत तोडफोड, लुटपाट र आगजनी भएको थियो ।
आन्दोलनबाट ठूलो क्षति व्यहोरेको कांग्रेसले बिहीबारदेखि आगजनीबाट ध्वस्त केन्द्रीय कार्यालयमा पार्टी पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक आयोजना गरेको छ । बैठक शुक्रबार पनि जारी छ ।
आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले आगजनीबाट कांग्रेस केन्द्रीय कार्यालय ध्वस्त पारेका थिए । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार आगजनीका कारण कार्यालयका कुनै पनि सामान बचेका छैनन् र आगजनीबाट केन्द्रीय कार्यालयमा मात्रै करिब रु १० करोड बराबरको क्षति भएको छ ।
बैठकमा सामसामयिक राजनीतिक विषयमा र यही असोज २६ गते बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित ‘एजेन्डा’लगायत विषयमा समेत छलफल भएको छ । जेनजी आन्दोलनपछि पार्टीको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक पहिलोपटक बसेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij