काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवाका लागि रोजगारी सिर्जना गर्न सकिने बताएका छन्।
काठमाडौंको सामाखुसीमा चेन्ज डिजिटलले सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको आइतबार उद्घाटन गर्दै उनले गाडी चार्ज गर्न समय लाग्ने भएकाले यात्रुलाई लक्षित गरी वरपर होटल, रेष्टुरेण्ट र कफीसप सञ्चालन गर्न सकिने उल्लेख गरे। यसबाट रोजगारीको अवसर बढ्ने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो।
मन्त्री घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रुपान्तरण अपरिहार्य रहेको बताए। उनका अनुसार चार्जिङ स्टेसन व्यवसाय लगानीको राम्रो क्षेत्र भएकाले यसले मुलुकको विदेशी मुद्रा सञ्चितिमा समेत योगदान पुर्याउनेछ।
नेपाल विद्युत प्राधिकरणले देशभर ६२ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ भने निजी क्षेत्रका करिब ८०० चार्जिङ स्टेसन सञ्चालनमा छन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत १८ कम्पनीसँग ४५ आयोजना मार्फत १२४ स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि सहयोग गरिएको छ।
सरकारले सन् २०३० सम्म निजी सवारी साधनको ९० प्रतिशत र सार्वजनिक सवारी साधनको ७० प्रतिशत विद्युतीयमा रुपान्तरण गर्ने लक्ष्य लिएको छ। यो लक्ष्य सन् २०३५ सम्म बढाएर क्रमशः ९५ र ९० प्रतिशत पुर्याइनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij