चितवन : चितवनका प्रमुख जिल्ला अधिकारी (सिडियो) गणेश अर्यालले जेन–जि आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जोगाउन सुरक्षाकर्मीलाई ठूलो बल प्रयोग नगर्न निर्देशन दिइएको बताएका छन्। सोमबार पत्रकारहरूसँगको भेटघाटमा उनले मानव जीवनलाई सर्वोपरि ठानेर निर्णय गरिएको स्पष्ट पारे। उनले भने, “प्रदर्शनका क्रममा हामीसँग दुई विकल्प थिए— ठूलो बल प्रयोग गरेर आन्दोलन रोक्ने वा प्रदर्शनकारीको ज्यान जोगाउने। सम्पत्ति त फेरि निर्माण गर्न सकिन्छ, तर मानव जीवन गुमे अपूरणीय क्षति हुन्छ। त्यसैले हामीले दोस्रो विकल्प रोज्यौं।”
ठूलो भौतिक क्षति
मानव जीवन जोगाउने क्रममा भने जिल्लामा ठूलो भौतिक क्षति भएको छ। अर्यालका अनुसार हालसम्म ९८ वटा घर तथा भवनमा क्षति पुगेको छ। तीमध्ये ७९ वटा सार्वजनिक भवन, १६ वटा निजी संरचना र तीन वटा राजनीतिक दलका कार्यालयमा तोडफोड तथा आगजनी भएको छ। उनले क्षतिको मूल्यांकन भइरहेको बताउँदै विस्तृत विवरणसहितको श्वेतपत्र यसै हप्ताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।
सेवा प्रवाहलाई सहज बनाउन प्रयास
सीडीओ अर्यालले प्रशासनले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन विभिन्न तहका निकायबीच समन्वय गरिरहेको बताए। उनका अनुसार, हाल नागरिकता वितरण, प्रतिलिपि उपलब्ध गराउने, म्याद थपलगायतका प्रशासनिक सेवा सुरु भइसकेका छन्। तर राहदानी र राष्ट्रिय परिचयपत्र वितरण भने केही समयपछि मात्र सञ्चालन हुने उनले स्पष्ट पारे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij