भक्तपुर: नेपाली परिकार गुन्द्रुकको सुप र थाईल्यान्डको लोकप्रिय तोमयाम सुप अब एउटै मेनुमा देख्न र खान पाइने भएको छ । नेपाली र थाई खानाको स्वादिलो संगमका रूपमा चिनिने पाक कार्यक्रम ‘भोजनलिपि स्वाद’ को छैटौं संस्करण भदौं ४ गते भक्तपुरको रोयल थाई हस्पिटालिटीमा आयोजना हुँदैछ ।पहिलोपटक थाई र नेपाली खानालाई एउटै प्लेटफर्ममा प्रस्तुत गर्न लागिएको यो कार्यक्रमले दुवै मुलुकको सांस्कृतिक सम्बन्धलाई पाक परम्परामार्फत थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।
कार्यक्रममा नेपाली र थाई गरी झण्डै १२ प्रकारका परिकारहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ । कार्यक्रमको प्रमुख आकर्षण नेपाली गुन्द्रुक सुप र थाई तोमयाम सुप हुनेछ । आयोजकहरूका अनुसार यो संयोजनले नेपाली मौलिक स्वादलाई अन्तर्राष्ट्रिय सन्दर्भमा स्थापित गर्ने रहेको छ ।
“गुन्द्रुकलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउन निरन्तर प्रयास आवश्यक छ । यो कार्यक्रम त्यसै दिशातर्फको एक पाइला हो- कार्यक्रमका सह–आयोजक तथा रोयल थाई हस्पिटालिटीका सञ्चालक सेफ गणेश ढकाल भन्नुहुन्छ ।“
कार्यक्रमलाई नेपाली खाना पारखीहरूका लागि एउटा सन्देशवाहक कार्यक्रमको रूपमा लिएको नेपाली खाना प्रवर्धन अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताउनु भयो । सापकोटा भन्नुहुन्छ, “यो संयुक्त प्रस्तुति नेपाली खाना पारखीहरूको चाहना पूरा गर्ने अभियान हो ।”
भोजनलिपि स्वाद अभियानका सर्जक सेफ घनश्याम कँडेलले नेपाली खानालाई अन्तर्राष्ट्रिय होटलहरूको मेनुमा राख्ने लक्ष्य लिएको बताउनु भयो । गुन्द्रुक जस्ता मौलिक स्वादहरूले विदेशमा पनि लोकप्रियता बनेको उहाँको भनाई छ ।यसैबीच कार्यक्रममा हरितालिका तीजको दर कार्यक्रमसमेत समावेश गरिएको छ । भदौ ४ गते हुने उक्त कार्यक्रममा नेपाल र थाईल्यान्डका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहने छ ।
आयोजकका अनुसार यो फूड सेलेब्रेशनले पाक कूटनीतिमा समेत योगदान पुर्याउनेछ । भोजनलिपि स्वाद सेफ घनश्याम कँडेल र सेफ दुर्गा खड्काको संयुक्त अनुसन्धानमूलक पाक अभियानले नेपाली खानाको विविधता र मौलिकतालाई उजागर गर्ने उद्देश्य राखेको छ ।
यसअघि यस अभियानले पाँचवटा संस्करणहरू सफलतापूर्वक सम्पन्न गरिसकेको जनाएको छ । छैटौं संस्करण भने पहिलोपटक थाई खानासँग सहकार्यमा आयोजना हुँन लागेको आयोजकले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij