धनगढी : कर्णाली नदीमा पाइने डल्फिन माछा कैलालीका विभिन्न चार नदीमा देखिन थालेका छन् । कर्णाली नदीबाटै कैलालीको मोहना, काँडा, पथरैया, कन्द्रा नदीमा डल्फिन आउने गरेका हुन् । हरेक वर्ष कर्णाली नदी भएर यी डल्फिन आहारा खोज्ने तथा बच्चा हुर्काउन यी नदीमा आउने गरेको विज्ञ बताउँछन् ।
कैलाली र बर्दियाको सिमानामा बग्ने कर्णालीमा बाह्रै महिना डल्फिनको बसाइ हुन्छ । असार, साउन, भदौ र असोज गरी चार महिना कर्णाली नदीबाट घुमफिर गर्दै र आहारा खोज्दै बच्चा हुर्काउन डल्फिनहरू कैलालीको पूर्वी दक्षिणी क्षेत्रमा बग्ने यी नदीमा आइपुग्ने गरेको विज्ञको भनाइ छ ।उनीहरूका अनुसार कर्णालीबाट मोहना नदीको बहावलाई बाटो बनाएर पथरैया, कन्द्रा र काँडा नदीसम्म डल्फिन आइपुग्ने गरेका छन् ।
डल्फिन संरक्षणमा लागेका टीकापुर नगरपालिका–७ का भोजराज ढुङ्गानाले यस वर्ष २५ वटा डल्फिन कर्णाली नदीबाट कैलालीका विभिन्न नदीमा आएको जानकारी दिए । ती डल्फिन प्रजनन तथा बच्चा हुर्काउन यसरी आउने गरेको ढुङ्गानाको भनाइ छ । उनका अनुसार यो वर्ष नौ वटा बच्चा र १६ वटा वयस्क डल्फिन कैलालीका नदीहरूमा पुगेका हुन् ।
‘भजनी र टीकापुरको सिमानामा बग्ने पथरैया र काँडा नदी मिलेको त्रिवेणीनेर अहिले आमा र बच्चा डल्फिन जतिबेला पनि देख्न सकिन्छ,’ ढुङ्गानाले भने ।यो त्रिवेणीमा आएका डल्फिन र उसका बच्चा हरेक एक मिनेटमा पानीमाथि देखा पर्ने उनको भनाइ छ । ‘सास फेर्न निस्केका बेला नै डल्फिन पानीको सतहमाथि देखिने हो । कहिलेकाहीँ माछा समातेको बेला पनि पानीभन्दा माथिसम्म उफ्रन्छ,’ उनले भने ।

डल्फिन देखिने पथरैया र काँडा मिलेर बनेको त्रिवेणीनेर नदीको गहिराइ १६ देखि २० फिटसम्म छ । यहाँ ५०० मिटर परिधिभित्र डल्फिन खेलिरहने गर्दछ ।पानीको बहाव कम नभएसम्म यी डल्फिन त्यहाँबाट कर्णालीमा फर्किँदैनन् ।
ढुङ्गानाका अनुसार यहाँ देखिएको डल्फिन ग्यांगेटीक प्रजातिको हो । यसको दृश्यशक्ति कम हुने तर आवाज सुनेका भरमा सिकार र खतरा पहिल्याउने उनको भनाइ छ ।आमा डल्फिनको तौल एकदेखि डेढ क्वीन्टलसम्म र यसको लम्बाइ ८ फिटसम्म रहेको अनुमान गरिएको छ । यो प्रजातिका डल्फिनको मुख लामो चुच्चो परेको हुन्छ भने दाँत तिखा हुन्छन् ।
पथरैया र काँडा नदीको मिलनविन्दुनेर जस्तै भजनी र टीकापुरका अरू तीन विन्दुमा वर्षातको समयमा डल्फिन आइरहन्छन् । गैरीनाला–पथरैयाको दोभान, मोहना–पथरैयाको दोभान र मोहना–रेफ्टीनालाको दोभानमा पनि डल्फिन देख्न सकिन्छ ।‘आजभोलि यी चार विन्दुमा जतिबेला पनि डल्फिन देखिन्छन् । उनीहरू खेल्दै तलमाथि गर्ने भएकाले नदीका अरू स्थानमा पनि कहिलेकाहीँ पुग्छन्,’ ढुङ्गानाले भने ।
भारतको गङ्गा नदीमा प्रशस्त डल्फिन छन् । कर्णाली नदी पनि गङ्गामा गएर मिसिन्छ । गङ्गामा पाइने प्रजातिका डल्फिन नै कर्णालीसहित कैलालीका नदीमा पाइने भएकाले यी माछा कर्णालीको बाटो हुँदै आएको हुनसक्ने बताइन्छ ।‘हुन त भारतले बनाएको ड्यामबाट माथि डल्फिन आउन नसक्लान् तर पहिले नै आएका थिए वा अहिले पनि आउजाउ हुन्छ भन्ने कुरा अध्ययनको विषय हो,’ ढुङ्गानाले भने ।
कर्णाली, मोहना, पथरैयामा पानी प्रदूषित नभएका कारण डल्फिन आएको विज्ञहरूको भनाइ छ । यहाँ डल्फिनको आहारका रूपमा माछा, झिंगेमाछा, लेउ प्रशस्त पाइनाले तिनका लागि अनुकूल वातावरण रहेको संरक्षणकर्मी बताउँछन् ।
यसबाहेक पछिल्लो समय मानवीय गतिविधिले अवरोध नहुने भएर पनि डल्फिनलाई यहाँ आउन सजिलो भएको ढुङ्गानाको भनाइ छ । ‘वर्षाको बेलामा नदीमा मानिसको गतिविधि खासै हुँदैन । यी नदीमा दोभान बढी हुनाले बच्चा हुर्काउन, माछा खान सजिलो भएर यहाँ आउँछन्,’ उनले भने ।
वर्षामा डल्फिन देखिने पथरैया नदीको यो विन्दु छेउछाउमा २०२३ सालतिरै मान्छेको बस्ती बसेको बुढापाका बताउँछन् । त्यतिबेलातिर पनि डल्फिन देखिएको उनीहरूको भनाइ छ ।२०५७ सालपछि डल्फिनको महत्त्वबारे धेरै स्थानीयले बुझे । त्यसपछि डल्फिन संरक्षण गर्नुपर्ने भनेर विभिन्न समूह बने ।डल्फिन संरक्षणका लागि नदीमा जथाभावी माछा मार्न रोक लगाउने, विषादी हाल्न नदिने, फोहर र मरेका वस्तु नदीमा फाल्न नदिने जस्ता काम भइरहेको ढुङ्गानाले बताए ।

डल्फिन हेर्नका लागि आन्तरिक पर्यटक यदाकदा आइरहने भए पनि विदेशी पर्यटक त्यति नआउने उनको भनाइ छ । पर्यटकीय दृष्टिले प्रचार–प्रसार गरी समग्र क्षेत्रमै पर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको उनले बताए ।
२०६३ सालमा पथरैयामा डल्फिन हेर्न पहिलो विदेशी पर्यटक इंग्ल्याण्डका जोन स्पासेट र उनका साथी आएका थिए । बर्दिया राष्ट्रिय निकुन्ज आएका उनीहरू डल्फिन हेरेर फर्किएको ढुङ्गानाले बताए ।‘विदेशी आएर डल्फिन हेरेर रमाए, यहाँका स्थानीय विदेशीलाई हेरेर रमाए,’ उनले ठट्टा गर्दै भने ।
त्यसपछि तीजपर्व र विभिन्न दिवसका अवसरमा डल्फिन संरक्षणका बारेमा प्रचार गर्ने गरिएको ढुङ्गाना बताउँछन् । उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, जिल्ला समन्यव समिति र स्थानीय सरकारले डल्फिन संरक्षण, प्रचारप्रसार र पर्यटन विकासका लागि आवाज उठाउँदै आएका छन् । हरेक वर्ष डल्फिन आउने गरे पनि करिब दुई दशक यता १५० जति संख्यामा मात्र विदेशी पर्यटक डल्फिन हेर्न आएको संरक्षणकर्मी बताउँछन् ।अहिले पथरैया नदीमा राष्ट्रिय गौरवको रानीजमरा कुलरीया सिँचाइ आयोजनाले जलचर डल्फिनमैत्री तटबन्ध बनाइदिएको छ । टीकापुर र भजनी नगरपालिकाले एक/एक वटा भ्यु टावर बनाएका छन् ।
स्थानीयले नदी सरसफाइ, पर्यटकलाई स्वागत, डुंगाबाट अवलोकन गर्ने व्यवस्था गरेका छन् ।‘डल्फिन संरक्षण क्षेत्रका रूपमा सरकारले घोषणा गरेर यसलाई प्रजनन केन्द्र स्थापना गर्नुपर्छ भन्ने यहाँका नागरिकको माग छ,’ ढुङ्गानाले भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij