काठमाडौँ : इन्टरनेशनल रिलेसन्स एन्ड डिप्लोमेसी डाइलग (आईआरजीडीडी) ले नेपाल गार्मेन्ट एसोसिएसन र नेपाल कार्पेट एसोसिएसनसँग सहकार्य बलियो बनाउने विषयमा छलफल गरेको छ ।
छलफलमा आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल, नेपाल गार्मेन्ट एसोसिएसनका अध्यक्ष पशुपति देव पाण्डे, र नेपाल कार्पेट एसोसिएसनका अध्यक्ष बलराम गुरुङ तथा आईआरजीडीडीका सह–संस्थापक विमल ढकाल पनि सहभागी थिए ।
बैठकमा नेपालको गार्मेन्ट र कार्पेट उद्योगको विश्वव्यापी उपस्थिति कसरी मजबुत बनाउने भन्ने विषयमा छलफल गरिएको आईआरजीडीडीका मिडिया संयोजक अरुण कट्वालले बताए । सहभागीहरूले बजार पहुँच विस्तार, उत्पादन प्रतिस्पर्धात्मकता सुधार र अन्तर्राष्ट्रिय व्यापार परिवेशसँग अनुकूलन गर्ने विषयहरूमा विचार आदान–प्रदान गरेका थिए ।
सो अवसरमा उद्योगसम्बन्धी विशेषज्ञता, अनुभव, र व्यावहारिक पक्षहरू साझा गर्ने, तथा दीर्घकालीन रणनीति निर्माणमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो ।
छलफलको क्रममा अध्यक्ष डा.ढकालले दुवै उद्योग संघका अध्यक्षहरूको महत्त्वपूर्ण योगदानप्रति आभार प्रकट गर्दै भनिन्, ‘नेपालको आर्थिक कूटनीति अघि बढाउन यस्ता क्षेत्रीय विशेषज्ञता अमूल्य छ ।’ उनले आईआरजीडीडीले उद्योगका नेताहरूसँग मिलेर अनुसन्धानमा आधारित सिफारिस, रणनीतिक मार्गदर्शन र दिगो विकास र अन्तर्राष्ट्रिय संलग्नता प्रवद्र्धनमा कार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
आईआरजीडीडीले आगामी दिनमा पनि निजी क्षेत्रका विभिन्न सङ्घ–संस्थासँग सहकार्य गर्दै नेपालको निर्यात व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन थप पहल गर्ने जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij