एडिलेड, अष्ट्रेलिया : नेवार समुदायको ऐतिहासिक र सांस्कृतिक पर्व येँयाः पुन्ही – इन्द्र जात्रा’ आगामी सेप्टेम्बर ७, आइतबार एडिलेडमा भव्य रूपमा मनाइने भएको छ। गुठी साउथ अष्ट्रेलियाको आयोजनामा हुने यो कार्यक्रम कसग्रोभ हल, Clovelly Park मा दिउँसो २:३० बजेबाट सुरु हुनेछ। प्रवेश निःशुल्क रहनेछ।
गुठी साउथ अष्ट्रेलियाका अध्यक्ष गौरव राजकर्णिकार का अनुसार यस वर्षको कार्यक्रममा कुमारी जात्रा, लाखे, पुलुकिसि, धिमे बाजा, समयबजी, साथै कुमारी नृत्य, ब्रजयोगिनी नृत्य, पञ्च बुद्ध नृत्य, चार्य नृत्य र मञ्जुश्री नृत्य प्रस्तुत गरिनेछ।
गुठी साउथ अष्ट्रेलिया सन् २०१५ मा स्थापित भई नेवारी सांस्कृतिक सम्पदा, परम्परा, खाना, संगीत, कला, नृत्य र भाषाको संरक्षण र प्रवर्द्धन निरन्तर रुपमा क्रियाशिल रहेको छ । इन्द्र जात्रा अर्थात येँयाः पुन्ही विगत २०१७ देखि एडिलेडमा आयोजना हुदै आएको छ। यस वर्षको आयोजनासँगै यो पर्व यहाँ आठौँ पटक मनाउन लागिएको हो।
किम्बदन्ती अनुसार, स्वर्गका राजा इन्द्र आफ्नी आमा वसुन्धराको व्रतका लागि पारिजातको फूल टिप्न पृथ्वीमा आएका थिए। अनुमति बिना फूल टिप्न खोज्दा मालीले उनलाई समाते र सार्वजनिक रूपमा लिंगोमा बाँधेर राखियो।
छोरा खोज्दै ऐरावत हात्ती र पछि बहुलाको भेषमा आमा वसुन्धरा काठमाडौं आइपुगिन्। काठमाडौंवासीको मागअनुसार धानबाली राम्रो हुने र मरेकालाई स्वर्ग लैजाने वाचा गरेपछि इन्द्रलाई छुटाइयो। त्यसपछि थानकोटको इन्द्रदहमा स्नान गरी आमा–छोरा स्वर्ग फर्किएका थिए भन्ने विश्वास छ। यसै सम्झनामा प्रत्येक वर्ष इन्द्र जात्रा मनाइन्छ।
गुठी साउथ अष्ट्रेलियाका सचिव सजिन प्रधान का अनुसार यस्ता पर्वहरूले विदेशमा हुर्कँदै गरेको दोस्रो पुस्तालाई आफ्नो संस्कृति सिकाउने मात्र नभई नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउँछन्। सन् २०१५ मा स्थापना भएको गुठी साउथ अष्ट्रेलिया निरन्तर नेवार संस्कृति संरक्षणमा सक्रिय रहँदै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij