नेपाली फिल्म क्षेत्रको बाटो अहिले कस्तो छ ? हलमा कस्तो फिल्म चलेका छन् ? झट्ट हेर्दा आफ्नै माटोको । दर्शकलाई भावनामा बगाउन खालका । हलमा दर्शक रुँदै निस्किएका दृश्यले धेरैको मन पगाल्छ ।
तर, के रुने फिल्म मात्र चलिरहेको हो त ? पक्कै पनि होइन । ‘छक्का पन्जा’ सिरिजले जहिले पनि दर्शकलाई हँसायो र कुनै न कुनै सन्देश दियो । ‘कबड्डी’ सिरिजलाई दर्शकले सधैं मन पराउँछन् । किन अर्गानिक कथामा दर्शकलाई रोमाञ्चक यात्रामा फिल्मले लैजाने गरेको छ ।
उसो भए, अब के चल्ला त ? जवाफ एउटै छ, राम्रो फिल्म चल्छ । राम्रो फिल्म केलाई भन्ने ? जवाफ उही छ, दर्शकले जुन फिल्म मन पराउँछन् त्यही राम्रो फिल्म । तर, यसो भन्दै गर्दा कहिलेकाही राम्रो फिल्महरू दर्शकसम्म पुग्न नसक्दा नचलेका उदाहरण पनि छन् ।
एक दशक अगाडि फर्किएर हेर्ने हो भने, निर्देशक ऋषि लामिछानेले दर्शकलाई रुवाए । उनले बनाएका सिरियल हुन् या फिल्म, दर्शकको मनलाई यति मज्जाले छोए कि के भन्ने ? दर्शकको मन ती फिल्म र सिरियलले बनाएको छाप, आज पनि उस्तै छ । ऋषि लामिछानेले आज दर्शक हसाउँदै छन् । भदौको ६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माग्ने राजा’बाट उनले दर्शकलाई हँसाउने तयारी गरेका छन् ।
हिजो दर्शक रुवाएका यी साहित्यिक निर्देशक आज दर्शक हँसाउन किन तयार भए त ? मेरो फिल्मसँगको कुराकानीका क्रममा उनले भने–‘दर्शक धेरै रोइसकेका छन् । अब, हँसाउनु पर्छ भनेर माग्ने राजा’ बनाएको हुँ ।’ऋषिले यो फिल्म मनदेखि बनाएको बताए । मनदेखि बनाएको फिल्म भएकाले पनि दर्शकको मन छुने उनको भनाई छ ।
यो फिल्मले के दर्शक हसाउँछ मात्र त ? ऋषि भन्छन्–‘हामीले यो फिल्मबाट एउटा यस्तो सन्देश दिनेछौँ, जुन आजका दिनसम्म कुनै पनि नेपाली फिल्मले दिएका छैनन् । फिल्म हेर्दै गर्दा दर्शक सरप्राइज हुनेछन् । यो विषयवस्तुले दर्शकलाई हलबाट बाहिर निस्कँदै गर्दा सोच्न बाध्य बनाउनेछ ।’ उनले अहिले नै यो बिषय खोल्न नमिल्ने तर्क गरे ।
ऋषिले ८ वर्ष फिल्म बनाएनन् । यसमा पनि उनको आफ्नै तर्क छ । भने–‘एउटा निर्देशकले कुनै न कुनै प्लेटफर्मबाट दर्शकसँग साक्षात्कार गरिरहेको हुन्छ । मैले सिरियल बनाएको थिएँ । दर्शकसँग जोडिनका लागि फिल्म नै बनाउनुपर्छ भन्ने हुँदैन । अहिले फेरि ठूलो पर्दाबाट कथा भन्नुपर्छ भन्ने लागेर माग्ने राजा बनाएको हुँ ।’
‘माग्ने राजा’ले एउटा भूँइमान्छेको कथा भन्ने उनको भनाई छ । यो कथा आम नेपालीको कथा भएको र सबै दर्शकलाई छुने उनले तर्क गरे । ऋषि फिल्मबाट ढुक्क छन् । फिल्मले दर्शकको साथ पाउने आधार धेरै भएको र आजका दिनमा दर्शकलाई ‘माग्ने राजा’को प्रतीक्षा रहेको उनको भनाई छ । मुनाल घिमिरेले निर्माण गरेको फिल्ममा केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij