Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

फुटबलर साम्बालाई हेटौँडामा सम्मान

फुटबलर साम्बालाई हेटौँडामा सम्मान

हेटौंडा : नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई हेटौंडामा सम्मान गरिएको छ । सञ्चारिका समूह मकवानपुरले शनिवार हेटौंडामा आयोजना गरेको देश चिनाउने सम्बासँग हाम्रो चिनजान कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको सभाध्यक्षता एवं हटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेण्टका सञ्चालक एवं शिक्षाविद् पुरनबहादुर जोशीले भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभयो।सम्मानपछि बोल्दै खेलाडी भण्डारीले आफूले धेरै मेहनत र संघर्षका बाबजुत सफलता हासिल गरेको बताउनु भयो । मोजाको भकुण्डोबाट आफ्नो फुटबल करियर शुरु भएको स्मरण गर्दै अभावै अभावमा हुर्किएर यो स्थानमा आएको उहाँले बताउनु भयो । कप्तान भण्डारीले मोजाको भकुन्डोले फुटबलमा अगाडि बढ्न प्रेरणा दिएको बताउनु भयो ।

कप्तान भण्डारीले पछिल्लो समय खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उल्लेख गर्नुभयो । नयाँ पुस्तालाई खेल्नका लागि सामग्रीको अभाव नरहेको र स्थानीय सरकारले पनि खेलप्रति सकारात्मक धारणा राखेको उहाँको भनाई थियो ।

फुटबलको माध्यमबाट समाजमा केही परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा नेपाली महिला फुटबल टिम रहेको उहाँले बताउनु भयो । सबै नेपाली महिलाको प्रतिनिधित्व गर्दै नेपालको नाम चिनाउनका लागि आफू सदैव अग्रसर रहने उहाँले प्रतिवद्धता जनाउनु भयो । कप्तान भण्डारीले खेलसँगै शिक्षाको पनि उत्तिकै महत्व रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij