Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

दसैँमा स्वादसँगै आन्द्रा र मलद्वारको स्वास्थ्य पनि जोगाऔँ

दसैँमा स्वादसँगै आन्द्रा र मलद्वारको स्वास्थ्य पनि जोगाऔँ

दसैँमा मीठा परिकार र मासुको अत्यधिक सेवनले पेट फुल्ने, कब्जियत हुने र दिसा गर्न गाह्रो हुने समस्या देखिन सक्छ । रातो मासुको सट्टा कुखुरा वा माछाजस्ता सेतो मासु छनोट गर्नु तुलनात्मक रूपमा उपयोगी भए पनि फाइबरयुक्त खानेकुरा समावेश गर्नुपर्छ । पेट र मलद्वार स्वस्थ राख्न रातो मासु घटाएर हरियो सागसब्जी, फलफूल, दाल, गेडागुडी र साबुत अन्नजस्ता फाइबरयुक्त खानेकुरा प्रचुर मात्रामा समावेश गर्नुपर्छ । दसैँको रौनकसँगै भान्सामा पाक्ने मीठा–मीठा परिकार, मासुको भोज र परिवारजनको भेटघाटले उत्सवको माहोल बढाउँछ ।

तर यही चाडबाडका बेला खानपानको सन्तुलन मिलाउन नसक्दा धेरैजसो मानिसमा पेट फुल्ने, कडा कब्जियत हुने र दिसा गर्न गाह्रो हुनेजस्ता समस्या देखिने गर्छन् ।
विशेषगरी दसैँमा मासुको अत्यधिक सेवन तर सागसब्जी, फलफूल र पानीको कमीले पाचन प्रणालीमा प्रत्यक्ष असर पुर्‍याउँछ । त्यसैले चाडबाडमा स्वादसँगै आफ्नो आन्द्रा र मलद्वारको स्वास्थ्य सुरक्षित राख्न विशेष ध्यान दिनु आवश्यक छ । मासु आफैँमा प्रोटिनको महत्त्वपूर्ण स्रोत भए पनि रातो मासुको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक मानिन्छ । खसी, बोका, राँगा वा भेडाजस्ता रातो मासु र विशेष गरी ससेज, सलामी वा बेकनजस्ता प्रशोधित मासुको नियमित सेवनले कोलोरेक्टल क्यान्सरको जोखिम बढाउँछ ।

रातो मासुको विकल्पमा कुखुरा वा माछाजस्ता सेतो मासु रोज्नु तुलनात्मक रूपमा उपयोगी हुन्छ, तर यस्ता मासु खाँदा पनि सन्तुलित आहार र फाइबरयुक्त खानेकुरा समावेश नगरेसम्म पाचनसम्बन्धी जोखिम पूर्ण रूपमा टर्दैन । कब्जियतका कारण दिसा गर्दा बारम्बार धेरै बल लगाउनुपर्ने अवस्थाले मलद्वारका विभिन्न जटिल समस्याहरू निम्त्याउन सक्छ। यसले गर्दा मलद्वारबाट रगत आउने वा गाँठो देखिने बवासिर (पाइल्स)’, मलद्वारमा चिरा परी तीव्र दुखाइ हुने ‘फिसर’, र मलाशयको भाग बाहिर निस्किने ‘रेक्टल प्रोल्याप्स’ जस्ता समस्या बढ्छन् । यसबाहेक रातो मासुको अत्यधिक प्रयोग, कम फाइबर, धूमपान, मदिरा र शारीरिक निष्क्रियताले ठुलो आन्द्रा र मलाशयमा हुने कोलोरेक्टल क्यान्सरको जोखिमलाई समेत बढाउँछ ।

दसैँको समयमा पेट तथा मलद्वारलाई स्वस्थ राख्न खानपानमा सन्तुलन कायम गर्नु नै प्रमुख उपाय हो । यसका लागि रातो र प्रशोधित मासुको मात्रा घटाएर आफ्नो भोजनमा हरियो सागसब्जी, फलफूल, दाल, गेडागुडी र साबुत अन्नजस्ता फाइबरयुक्त खानेकुरा प्रचुर मात्रामा समावेश गर्नुपर्छ ।

साथै, धेरै चिल्लो, पिरो र प्याकेटका प्रशोधित खाना सीमित गर्दै दिनभरि नियमित रूपमा प्रशस्त पानी पिउने बानी बसाल्नुपर्छ । खानपानका अतिरिक्त दैनिक जीवनशैलीमा सुधार ल्याउनाले पनि आन्द्राको स्वास्थ्यमा ठुलो सहयोग पुग्छ। दसैँको व्यस्तताबिच पनि दैनिक हिँडडुल गर्ने वा शारीरिक रूपमा सक्रिय रहने, दिसा लागेको बेला नरोक्ने र शौचालयमा अनावश्यक धेरै समय बसेर बल नलगाउने बानी बसाल्नुपर्छ ।

मदिरा सेवनबाट पूर्ण रूपमा टाढा रहनु स्वास्थ्यका लागि सबैभन्दा सुरक्षित विकल्प हो, किनकि यसले क्यान्सरलगायत अन्य धेरै रोगको जोखिम बढाउँछ । प्रायः मानिसहरू दिसामा रगत देखिनेबित्तिकै आफैँ अनुमान लगाएर बवासिर (पाइल्स) को औषधि प्रयोग गर्न थाल्छन्, जुन एकदमै जोखिमपूर्ण हुनसक्छ ।

दिसामा रगत आउनु बवासीरको मात्र नभई फिसर, आन्द्राको सुजन, पोलिप वा कोलोरेक्टल क्यान्सरको सुरुआती लक्षण पनि हुन सक्छ । त्यसैले लगातार कब्जियत हुने, दिसा गर्ने बानीमा अचानक परिवर्तन आउने, पेट दुख्ने वा दिसामा रगत देखिनेजस्ता चेतावनीका लक्षण देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ । विशेषगरी ४५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरू तथा परिवारमा क्यान्सरको इतिहास भएकाहरूले कोलोरेक्टल क्यान्सरको नियमित जाँच गराउनुपर्छ ।

चाडबाडमा मनपर्ने परिकार खाँदा खानपानमा सन्तुलन राख्नु, फाइबरयुक्त खानेकुरा बढाउनु र नियमित हिँडडुल गर्नु नै कब्जियतबाट बच्ने उत्तम उपाय हो। मलद्वारमा देखिने दुखाइ वा रगत आउने समस्यालाई नलुकाई समयमै दक्ष चिकित्सककहाँ जाँच गराउनु नै बुद्धिमानी हुन्छ । दसैँमा स्वादिलो खानेकुरा र परिवारको खुसीसँगै आफ्नो स्वास्थ्य जोगाउने संकल्प गरौँ । खानपानमा सन्तुलन मिलाउने, फाइबर र पानीको मात्रा बढाउने र शारीरिक रूपमा सक्रिय रहने हो भने दसैँलाई थप सुखद र निरोगी बनाउन सकिन्छ । चाडपर्वको रमाइलोसँगै आफ्नो पेट, आन्द्रा र मलद्वारको स्वास्थ्यप्रति सजग रहनु नै स्वस्थ जीवनको आधार हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट