Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

आँबुखैरेनीस्थित मर्स्याङ्दी जलाशयमा मोटरबोट सञ्चालन

आँबुखैरेनीस्थित मर्स्याङ्दी जलाशयमा मोटरबोट सञ्चालन

तनहुँ :  तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाले मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सेवा सञ्चालन गरी जल पर्यटनको सम्भावना उजागर गर्दै स्थानीय आम्दानी र रोजगारी सिर्जना गर्न सफल भएको छ।

गाउँपालिकाको अगुवाइमा सञ्चालित मोटरबोट सेवा आन्तरिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान दिँदै आएको छ। निजी क्षेत्रको ‘बोटेबोरा प्रालि’ले गाउँपालिकासँग सहकार्य गर्दै सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीले प्रारम्भिक चरणमा करिब १ करोड रुपैयाँ लगानी गरेको जानकारी गराइएको छ।

नेपालकै पहिलो मोटरबोट निर्माण कम्पनी ‘नेपाल सिप एन्ड बोट बिल्डिङ’द्वारा निर्मित ‘अग्नि’ र ‘फिस्टेल’ नामक दुई मोटरबोट हाल सञ्चालनमा छन्। यी मोटरबोटका माध्यमबाट एक दर्जन स्थानीय युवाहरूले प्रत्यक्ष रोजगारी पाएका छन्।

3112009f-9658-4cd7-bf33-a29f5440ad381754109307.jpeg गएको आर्थिक वर्षमा पालिकाले उक्त सेवाबाट ३ लाख रुपैयाँ आम्दानी गरेको थियो भने चालु आर्थिक वर्षका लागि ‘बोटेबोरा प्रालि’सँग १० लाख रुपैयाँ वा टिकट आम्दानीको १५ प्रतिशत (जुन बढी हुन्छ, त्यही) तिर्ने सर्तमा सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ। व्यवसाय नवीकरण शुल्कबापत कम्पनीले अतिरिक्त १ लाख रुपैयाँ तिर्ने व्यवस्था गरिएको छ।

गाउँपालिकाको वडा नं. २ स्थित ऐक्ले फाँटमा रहेको मोटरबोट स्टेसनले पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरूलाई आकर्षित गर्न थालेको छ। बर्खाको समय बाहेक दैनिक ३००–४०० यात्रु जलाशयमा मोटरबोटको मज्जा लिने गरेका छन्। यसको प्रत्यक्ष असर वरपरका होटल तथा खाद्य व्यवसायमा देखिन थालेको स्थानीय व्यवसायी सुजन गुरुङ बताउँछन्।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले मोटरबोट सेवा स्थानीयस्तरमै रोजगारी, आम्दानी र पर्यटन विस्तारको बलियो माध्यम बनेको बताए। “गाउँले पर्यटनबाट आत्मनिर्भर अर्थतन्त्रको दिशामा पाइला चालिरहेको छ,” उनले भने।

उपाध्यक्ष दुर्गा अर्यालका अनुसार पालिकाले पर्यटनलाई पहिलो प्राथमिकता दिएको छ। मोटरबोट स्टेसन वरपरको खाली जमिनमा रैथाने बाली, हस्तकलाका वस्तु तथा स्थानीय उत्पादनको बिक्री गर्ने कोशेलीघर स्थापना गर्ने योजना बनाइएको छ।

स्थानीय तिलकुमारी थापा भन्छिन्, “गाउँमै रोजगारी र आम्दानीका अवसर सृजना गरेर पालिकाले आत्मनिर्भरताको उदाहरणीय मोडेल प्रस्तुत गरेको छ।”स्थानीय घनबहादुर गुरुङले मोटरबोट सेवा सुरु भएपछि आँबुखैरेनीको राष्ट्रिय तथा स्थानीयस्तरमा प्रचारप्रसार समेत बढेको अनुभव सुनाए।यसरी जल पर्यटनको समुचित उपयोगमार्फत आँबुखैरेनी गाउँपालिका देशकै उदाहरणीय स्थानीय पर्यटन मोडलको रुपमा स्थापित हुने दिशामा अघि बढेको प्रष्ट देखिन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij