Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

मालढुङ्गादेखि –जोमसोम सडकमा १६ वटा पहिरा, यात्रा गर्दा सावधानी अपनाउन अनुरोध

मालढुङ्गादेखि –जोमसोम सडकमा १६ वटा पहिरा, यात्रा गर्दा सावधानी अपनाउन अनुरोध

म्याग्दी : उत्तर दक्षिण जोड्ने निर्माणधिन राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर आयोजनाअन्तर्गत पर्वतको मालढुङ्गादेखि काभ्रेभिर सम्मको सडक खण्डमा एक दर्जनभन्दा धेरै स्थानहरुमा पहिरोको जोखिम छ । कालिगण्डकी कोरिडोर सडक आयोजनाले पर्वत खण्डमा दुईवटा र म्याग्दी खण्डमा १४ वटा ठुला पहिराको पहिचान गरी यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।

वर्षातका समयमा सडक माथिबाट खस्ने पहिरोका कारण सम्भावित जोखिमलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय म्याग्दीले पनि रात्रिकालिन समयमा सवारी साधन नचलाउने अनुरोध गरेको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले सडक माथिबाट खस्ने पहिरोका कारण सम्भावित दुर्घटनालाई मध्यनजर गरेर रातिका समयमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।

बेनी–मालढुङ्गा र बेनी जोमसोम–कोरला सडक योजनाअन्तर्गत विभिन्न स्थानहरुमा गरेर १६ ठाउँमा ठुला जोखिमयुक्त पहिरोहरु रहेकाले ती स्थानलाई पहिरो ग्रस्त क्षेत्र पहिचान गरी यात्रुहरुलाई सावधानी अपनाउन जानकारीमूलक बोर्ड राखिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सब–इन्जिनियर गणेशमान श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८, फर्से, ७ केराबारी, म्याग्दीको रघुगङ्गा गाउँपालिका ३ गलेश्वर पारी, बैसरी, चमेरे, वडा नम्बर २ माझखर्क, कुनौटो, रिठाबोट र सिरुवारी क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको छ ।

यसैगरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ स्थित महभिर, वडा नम्बर २ को भुरुङभिर, वडा नम्बर ३ दानाको गुईठे भिर, खाम भित्ता, नौनी बगर, सुकेबगर म्याग्दी र मुस्ताङको सिमानमा पर्ने काभ्रेभिर, घोप्टेभिर र बाँदरजुङ भिरमा सडक माथिबाट पहिरो खस्ने समस्या रहेको आयोजनाका सब–इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो ।

सडक माथिबाट खस्ने जोखिमयुक्त पहिरो नियन्त्रण, संरक्षण तथा व्यवस्थापन गर्न आयोजनालाई चुनौती रहेको उहाँले बताउनभुयो । ति स्थानहरुमा सकभर रातिको समयमा सवारी साधन नचलाउन उहाँले अनुरोध गर्नुभयो । सामान्य वर्षातका समयमा पनि सडक माथिबाट ढुङ्गासहितको पहिरो खसेर यातायात नै अवरुद्ध हुने गरेको छ । यातायात खुलाउन आयोजनाले दुईवटा डोजर तयारी अवस्थामा राखेको छ ।

आयोजनाले गत वर्ष बैसरी पहिरोमा ‘रक एंकरिङ’र बायोइन्जिनियरिङ विधिबाट पहिरो रोकथाममा गरेको थियो । आयोजनाले गत वर्ष जियोलोजिस्टसमेत २० जना विभिन्न विषयका विज्ञ परिचालन गरी बेनीदेखि मुस्ताङको घाँसासम्मका पहिराको भौगर्भिक अध्ययन गरेको थियो । विज्ञहरूको उक्त टोलीले बेनी–लेतेसम्मको ३८ किमि खण्डमा पर्ने बैसरी, सिरुवारी, गुइठे र खाम भित्तासहित नौ वटा पहिरोलाई अति जोखिमपूर्ण भनेको थियो ।

गत वर्ष आयोजनाले विभिन्न स्थानको पहिरो रोकथामका लागि ठेक्का आह्वान गरेपनि चमेरे पहिरो बाहेकका अन्य पहिरो रोकथामका लागि ठेक्का लाग्न नसकेको आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी विष्णु चापागाईले बताउनुभयो ।

अध्ययन टोलीले जोखिमयुक्त पहिरो नियन्त्रण गर्न होरिजेन्टल ड्रेनदेखि रिटेनिङ वाल, ब्रेस्ट वाल, क्यास्केटिङ वाल, रक एंकरिङ, स्वायल नेल, बायोइन्जिनियरिङ समेत गरेर पहिरो व्यवस्थापन तथा नियन्त्रणको गर्न सकिने सुझाव दिएको आयोजनाले जनाएको छ ।बर्खायामा पहिरोका कारण बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध हुँदा मुस्ताङ भ्रमणका लागि जाने पर्यटक, भक्तजन लगायत सर्वसाधरणहरुले सास्ती भोग्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij