Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

लोडसेडिङ फर्किएको हल्ला निराधार : विद्युत प्राधिकरण

लोडसेडिङ फर्किएको हल्ला निराधार : विद्युत प्राधिकरण

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रअन्तर्गतका केही स्थानमा देखिएको विद्युत आपूर्तिको अवरोध लोडसेडिङ नभई प्राविधिक समस्याका कारण भएको बताएको छ ।

आइतबार प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएकाे हाे । प्राधिकरणले सामाजिक सञ्जालमा ‘लोडसेडिङ तालिका’ भनेर भ्रामक प्रचार गरिएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।लोडसेडिङ नेपालका लागि इतिहास भइसकेको भन्दै यस्ता गलत मनसायले फैलाइएको हल्लाकापछि नलाग्न आम उपभोक्तालाई आग्रह समेत गरिएकाे छ ।

प्राधिकरणका अनुसार चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत आपूर्ति गर्ने चनौली ३३/११ केभी (बसेनी) सबस्टेसनबाट न्यू भरतपुर जाने ३३ केभी लाइनमा अत्यधिक लोड बढेकाले समस्या सिर्जित भएको छ ।

वर्षा याममा पनि अपेक्षाअनुसार पानी नपर्दा आँधीखोलाको सिँचाइ लोड बढेकाले पनि विद्युत प्रणालीमा थप चाप परेको विज्ञप्तिमा उल्लेख छ । उक्त प्राविधिक समस्या व्यवस्थापनका लागि ट्रान्सफर्मर फेर्ने तथा लोड व्यवस्थापन गर्नुपर्ने भएकाले केही समय विद्युत आपूर्ति अवरुद्ध हुने तालिका सार्वजनिक गरिएको जानकारी प्राधिकरणले दिएको छ ।

तर, उक्त तालिकालाई ‘लोडसेडिङ तालिका’ भन्दै प्रचार गर्नु अनुचित र भ्रामक रहेको प्राधिकरणद्वार जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ । प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ ,‘वर्षातको समयमा अपेक्षाकृत पानी नपर्दा आइपरेको खडेरीका कारण अत्यधिक मात्रामा बढेको सिँचाइ लोड व्यवस्थापनका लागि विद्युत लाइन तथा ट्रन्सफर्मरहरु अदली बदली गर्नुपर्ने हुँदा सोको लागि लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरिएको हो ।’

विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित समाचारहरूको भित्री व्यहोराहरूमा नै प्राधिकरणका जिम्मेवारी पदाधिकारीद्वारा यस अवस्थालाई लोडसेडिङ भन्न मिल्दैन र बुधबारसम्ममा समस्या समाधान भइसक्ने कुरा उल्लेख भएता पनि यसको विपरीत मुख्य शीर्षकमा लोडसेडिङ उल्लेख हुनु आफैमा दुःखद र कुनै पनि दृष्टिले न्यायोचित नभएको सजगता जगतसमक्ष निवेदन गर्दछौँ ।’

प्राधिकरणले चनौली क्षेत्रको समस्या दीर्घकालीन रूपमा समाधान गर्न बसेनी १३२ केभी सबस्टेसनबाट चनौली सबस्टेसनसम्म नयाँ ३३ केभी लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको र सो सम्पन्न भएपछि समस्या पूर्ण रूपमा हट्ने विश्वास व्यक्त गरेको छ ।

यो समस्या पूर्णत प्राविधिक मात्र भएको र यसको समाधानका लागि प्राधिकरण अहोरात्र खटिरहेको हुँदा आगामी दुई–तीन दिनभित्रै निरन्तर विद्युत आपूर्ति सुनिश्चित गरिने जानकारी गराइएको छ ।

521591920_719465327580950_9105502067188288944_n

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij