रत्ननगर : ‘सुन्दर, स्वच्छ र सफा नगर : हाम्रो रत्ननगर’ भन्ने मूल नाराका साथ पूर्वी चितवन स्पोर्टस् क्लब, रत्ननगर–३ र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
पूर्वी चितवन स्पोर्टस् क्लबका अध्यक्ष सुरज न्यौपानेको अध्यक्षता र रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम क्लबका संरक्षक केवल न्यौपानेको संयोजकत्वमा सञ्चालन भएको थियो।
नगरप्रमुख सापकोटाले प्रत्येक महिना राजमार्गवरपर बृहत् सरसफाइ कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए। रत्ननगर नगरपालिकालाई सफा, सुन्दर र हराभरा बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ थियो।
वि.सं. २०८१ मा रत्ननगर नगरपालिका सरसफाइमा देशकै पहिलो पालिका बन्न सफल भएको उल्लेख गर्दै नगरप्रमुख सापकोटाले सबै नगरवासीलाई आ-आफ्नो जिम्मेवारी सम्झेर घरअगाडिको फोहोर आफैँ सफा गर्न आग्रह गरे। साथै, उनले व्यवसायीहरूलाई फोहोरको उचित व्यवस्थापन गर्न निर्देशन दिए।
नगरउपप्रमुख यादवप्रसाद पाठकले राजमार्गमा मानिसको चहलपहल बढी हुने भएकाले फोहोर हुने गरेको बताउँदै नियमित सरसफाइको सन्देश दिन पूर्वी चितवन स्पोट्र्स क्लबसँग सहकार्य गरिएको जनाए। उनले रत्ननगर उद्योग वाणिज्य सङ्घसँग छलफल गरी व्यवसायीहरूलाई अनिवार्य डस्टबिन राख्न लगाउने योजना रहेको बताए।
कार्यक्रममा रत्ननगर–३ का सोहेन्द्रराज खरेल, रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापा, रत्ननगर–१४ का वडा सदस्य धीरेन्द्र घिमिरे, सामाजिक अभियन्ता ज्ञानेन्द्र पाण्डे, रत्ननगर खानेपानी उपभोक्ता संस्थाका सचिव प्रताप डल्लाकोटी, युवा नेता दीपक पौडेल, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, स्काउट विद्यार्थी, खेलकुदप्रेमी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, समाजसेवी तथा सामाजिक अगुवाहरूको सहभागिता रहेको थियो।
रत्ननगर–९, टिकौलीस्थित कृष्ण मन्दिरबाट सुरु भएको कार्यक्रममा पूर्व–पश्चिम राजमार्गको दुवैतर्फ सरसफाइ गरी रत्ननगर नगरपालिकामा आएर समापन गरिएको थियो । सरसफाइका क्रममा कृष्णप्रणामी युवा परिषद् नेपालले त्रिनेत्र पेट्रोल पम्पअगाडि राजमार्गमा ‘बिस्तारै हाँक्नुहोस्’ लेखिएको चेतनामूलक ड्रम राखेको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगर र ट्राफिक प्रहरीले आवश्यक समन्वय गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij