दाङ : रूकुम पश्चिमस्थित भेरी नदीमा टिपरसहित खसेका तीन जनामध्ये थप एक जनाको शव पनि सुर्खेतमा फेला परेको छ। रूकुम पश्चिम प्रहरीका अनुसार रूकुम पूर्वको सिस्ने गाउँपालिका–८ स्यालापाखाका २० वर्षीय हरि विकको शव फेला परेको हो ।
भेरी गंगा नगरपालिका–२ खोजीस्थित भेरी नदीमा शुक्रबार फेला परेको विकको शवको शनिबार बिहान १० बजेतिर उनका बाबुले सनखत गरेका हुन्। शुक्रबार नै सुर्खेतको भेरी गंगा नगरपालिका–२ खोजीस्थित भेरी नदीमा दाङका टिपरका चालक मनिराम चौधरीको शव फेला परेको थियो।
टिपरसहित भेरी नदीमा खसेर बेपत्ता तीन जनामध्ये विक र टिपर चालक चौधरीको शव घटनास्थलदेखि झन्डै ६० किलोमिटर भन्दा टाढा फेला परेको हो। टिपरसँगै नदिमा खसेका रूकुम पश्चिम सानीभेरी गाउँपालिका–३ का धनविर बराइलीको अवस्था अज्ञात छ।
भेरी नदीमा पानीको बहाब बढेका कारण खोजी कार्यमा कठिनाइ उत्पन्न भएको प्रहरीले जानकारी दिएको छ। रूकुम पश्चिम प्रहरी र जाजरकोट प्रहरीले मिलेर उनीहरूको खोजी गरिहेका छन्।
रूकुम पश्चिमको आठबीसकोट नगरपालिका –१४ पिपलचौरस्थित भेरी नदीमा साउन ६ गते बेलुका पौने ८ बजेतिर रा १ क १५०१ नम्बरको टिपरसहित तीन जना भेरी नदीमा खसेका थिए।
टिपर भने बुधबार बेलुकी खसेको ठाउँ भन्दा झन्डै ५ सय मिटर दक्षिणमा फेला परेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij