काठमाडौँ : मनसुन सक्रिय भएसँगै बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले गराएको शनिबार बिहान साढे १० बजेसम्मको अद्यावधिक जानकारीअनुसार ४ वटा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने ५ स्थानमा एकतर्फी रूपमा सञ्चालनमा छन् ।
प्रहरीका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा यातायात पूर्ण रूपमा ठप्प भएको छ । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुणमा अविरल वर्षाका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा क्षति पुर्याउँदा यातायात पूर्ण रूपमा बन्द छ। जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–६ रिजिगारमा बाढीका कारण जाजरकोट–डोल्पा भियारी करिडोर पूर्ण रूपमा अवरुद्ध छ।
कर्णाली करिडोरअन्तर्गत पर्ने हुम्लाको सिमकोट गाउँपालिका–६ मा पनि पहिरोका कारण सवारी आवागमन ठप्प भएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij