काठमाडौं : ग्रामिण स्तरमा किसानको क्षमता अभिवृद्धि, व्यावसायिक खेती प्रणालीको प्रवर्द्धन र दिगो जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले सिराहा र सप्तरी जिल्लामा सञ्चालित कृषक व्यावसाय पाठशाला अभ्यास कार्यक्रममार्फत किसानहरूको जीविकोपार्जनमा सुधार आएको सरोकारवालाहरूले राजधानीमा आयोजित एक कार्यक्रममा बताएका छन्।
सिराहा र सप्तरीका किसानहरूको सहभागितामूलक अन्वेषण, सिकाइ एवं जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यले किसानहरूको प्रत्यक्ष सहभागिता र अनुभवमा आधारित अन्वेषणलाई प्राथमिकतामा राखी स्थानीय स्तरमै कृषि विकासलाई संस्थागत गर्ने उद्देश्यले कृषक व्यावसाय पाठशाला सञ्चालन गरिएको हो।

स्थानिय किसानहरूले आफ्नो अनुभव, सीप र परम्परागत ज्ञानलाई आधुनिक एवं वैज्ञानिक कृषि अभ्याससँग जोड्दै किसान स्वयंसेवकहरू परिचालन गरी दिगो कृषिका अभ्यासहरू गर्दै आएका छन्। सहभागितामूलक रूपमा खेतीपातीमा देखिएका समस्या पहिचान गरेर समाधान गर्ने कार्य भइरहेको छ।
स्थानिय कृषक स्वयंसेवकको नेतृत्वमा सञ्चालित अभ्यासमा बिउ छनोट, मल व्यवस्थापन, उत्पादन, बजार व्यवस्थापनका साथै जलवायु–मैत्री कृषि प्रविधिको अभ्यास गरिएको राष्ट्रिय कृषक समूह महासंघका राष्ट्रिय निर्देशक केदार कोईरालाले बताए। कृषक पाठशालाअन्तर्गत सिमान्तकृत भूमिहीन कृषक समूह गठन, स्वयंसेवक अगुवा किसान उत्पादन, क्षमता विकास, जीविकोपार्जन र खाद्य सुरक्षा कृषि प्रणाली सुधारजस्ता कार्यक्रमहरूले स्थानिय किसानहरूले सीप र प्रविधिको प्रयोग गरेर आय–आर्जन गर्न सक्षम भएको उदाहरण प्रस्तुत गरेका थिए।
खनजोत बिना खेती गर्नुका साथै ‘आलु पाठशाला’, ‘लसुन पाठशाला’ जस्ता नवीन सिकाइको प्रयोगले उत्पादन क्षमतामा वृद्धि भएको समेत उनले बताए।कार्यक्रममा बोल्दै राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले कृषि क्षेत्रलाई एकल अधिकारसहित स्थानीय सरकारलाई जिम्मा लगाउनेगरी नीतिगत व्यवस्था भए पनि व्यवहारमा लागु हुन नसकेको बताए। सरकारले खटाएका कृषि प्राविधिकहरूले किसानलाई आवश्यक प्राविधिक सेवा दिन नसकेको उल्लेख गर्दै उनले स्थानीय सरकारले कृषिमा व्यवहारिक सिकाइका लागि स्वयंसेवक परिचालन गर्न नीति तथा कार्यक्रममा सम्बोधन गर्नुपर्नेमा जोड दिए।
केयर नेपालका जगदीश भट्टले कृषक व्यावसाय पाठशाला अभ्यास कार्यक्रमले किसानलाई अनुसन्धान, प्रयोग, सिकाइ र साझा अभ्यासमार्फत कृषि प्रणालीमा सुधार गर्ने अवसर प्रदान गरेको बताए। उनले पाठशालाले केवल उत्पादन वृद्धि मात्र नभई किसानको मनोबल, नेतृत्व क्षमता र दीगो आर्थिक सुधारमा समेत महत्वपूर्ण योगदान दिएको बताए।
कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव हरि बहादुर केसीले नेपाल सरकारको कृषि तथा पशुपन्छी मन्त्रालय र कृषि ज्ञान केन्द्रमार्फत कृषिको वैज्ञानिकरण र अनुसन्धानमा काम भइरहेको जानकारी दिए। उनले समग्र किसानको प्रतिनिधित्व गर्ने कृषक सञ्जाल भए सञ्जालमार्फत कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी हुने भएकाले सञ्जाल निर्माण गर्नुपर्नेमा जोड दिए। साथै वर्तमान अवस्थामा स्थानीय सरकारलाई अधिकार दिइएको भएकाले महासंघले स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्नुपर्ने बताए।
कार्यक्रममा साप नेपालका प्रादेशिक निर्देशक जनक कार्कीले सरकारी कार्यक्रमबाट सेवा लाभ लिन विभिन्न कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटिलो प्रणालीका कारण ग्रामीण स्तरमा सिमान्तकृत समुदाय (माझी, मुसहर, चेपाङ आदि) सरकारी सेवा सुविधाबाट वञ्चित भइरहेको बताए। उनले सामान्य कृषक समूहलाई पनि प्यानमा दर्ता गर्नुपर्ने, वार्षिक अडिट गर्नुपर्ने र अडिट शुल्क सात हजार रुपैयाँसम्म जुटाउन नसक्ने भएकाले गरिब किसानलाई समूह सञ्चालन गर्न गाह्रो भइरहेको बताए। साथै स्थानीय सरकारले कृषकलाई प्राविधिक सेवा दिन नसकेको पनि बताए।
कार्यक्रममा अन्य वक्ताहरूले पाठशालाको अभ्यासमार्फत किसानले प्रयोग गरेका सीप, प्रविधि, आय–व्यय, चुनौती र समाधान उपायहरू साझा गर्दै अन्य किसानका लागि सिकाइको माध्यम बनाएको बताए। यसबाट आत्मनिर्भरता र आयवृद्धि हुने विश्वास गरिएको छ। कृषकहरूको सशक्तीकरणमार्फत सामुदायिक सहकार्य, बचत समूह निर्माण र सहकारी प्रवर्द्धनले पनि आय–आधारित जीविकोपार्जनमा टेवा पुर्याएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij