Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

बारा, पर्सा, रौतहट आसपास गत वर्षको तुलनामा २० प्रतिशतमात्रै वर्षा

बारा, पर्सा, रौतहट आसपास गत वर्षको तुलनामा २० प्रतिशतमात्रै वर्षा

बारा : बारा, पर्सा, रौतहट आसपासका क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष मनसुनमा २० प्रतिशतमात्रै वर्षा भएको छ । सामान्यतया जेठ १५ देखि असोज १५ सम्म (जुन, जुलाई, अगस्ट, सेप्टेम्बर)लाई मनसुन अवधि मानिन्छ ।

जल तथा मौसम विभाग सिमरा शाखा कार्यालयका अनुसार यस वर्ष जुन र जुलाईमा ३२० मिलिमिटरमात्रै वर्षा भएको छ । यो गत वर्षको तुलनामा करिब २० देखि २५ प्रतिशतमात्रै हो ।मनसुन अवधिको बाँकी २ महिनामा सरदर वर्षा हुन्छ कि भन्ने आकलनमात्रै गर्न सकिने जल तथा मौसम शाखा सिमराका सहायक मौसमविद्ध लक्ष्मण प्रसाद कँडेलले जनाए ।

उनले सन् २०२४ मा मनसुन अवधिको ४ महिनामा १ हजार ५०८ मिलिमिटर वर्षा भएको जनाए । विगत ३÷४ वर्षको तथ्याङ्क केलाउँदा गत वर्ष सरदरभन्दा बढी वर्षा भएको उनको भनाइ छ । सरदरमा बारा, पर्सा, रौतहटमा एक सिजनमा १ हजार २ सय मिलिमिटर वर्षा हुने गर्दछ ।

सिमरा विमानस्थलस्थित जल तथा मौसम शाखाले १ सयदेखि १५० किलोमिटर क्षेत्र आसपासको तापक्रम, वर्षा तथा हावामा पानीको मात्रालाई रेकर्ड राख्दछ ।सहायक मौसमविद् कँडेलले गत वर्षको २४ घण्टे तथ्याङ्कका आधारमा असोज १८ गते सबैभन्दा धेरै अर्थात् १८८ दशमलव २ मिलिमिटर वर्षा भएको जनाए । गत वर्ष अधिकतम् तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियस मापन भएको उनको भनाइ छ ।

m6

त्यसैगरी सन् २०२३ को ४ महिनाको मनसुन अवधिमा मधेस प्रदेशका जिल्लाहरूमा १ हजार १७० मिलिमिटर मात्रै वर्षा भएको तथ्याङ्क छ । सो वर्ष सबैभन्दा धेरै असोज  १२ गते १५० दशमलब ६ मिलिमिटर वर्षा भएको कँडेलले जनाए ।

सन् २०२३ मा पनि मधेस प्रदेशमा तापक्रम करिब ४३ डिग्री पुगेको थियो । सन् २०२२ मा १ हजार ४४१ मिलिमिटर वर्षा भएको तथ्याङ्कले देखाएको छ  ।२०२२ मा अधिकतम् तापक्रम ३८ दशमलव ८ डिग्री र न्यूनतम् तापक्रम ५ दशमलब ४ डिग्री सेल्सियस मापन भएको सहायक मौसमविद् कँडेलले जनाए ।

विगत ३–४ वर्षको तापक्रम र वर्षाको तथ्याङ्क हेर्दा मधेस प्रदेशमा वर्षा घट्दो र तापक्रम वार्षिक करिब १ प्रतिशतले बढ्दै गएको वन तथा वातावरणविद् विनोद सिंहले जानकारी दिए ।

धनुषाका डिभिजन वन अधिकृत समेत रहेका सिंहले जलवायु परिवर्तनको कारण बंगालको खाडीबाट आएको बादललाई पश्चिमी हावाले अवरोध गरेर मधेस प्रदेशमा वर्षा हुन नदिएको प्रस्ट पारे ।

‘बंगालको खाडीबाट आएको मनसुन पहाडमा ठोक्किएर नेपालमा वर्षा हुन्छ, तर अहिले पश्चिमी हावाले त्यसलाई सक्रिय हुन दिएको छैन,’ सिंहले भने, ‘जलवायु परिवर्तनको कारण पनि यस्तो भइरहेको छ । अब यही गतिमा वनक्षेत्र अतिक्रमण र जनसंख्या वृद्धि हुँदै गए तराई मधेस छिटै मरुभूमि बन्ने र यहाँ खाद्य सङ्कट देखिने निश्चित छ ।’

m4

गत वर्ष किसानहरूले साउन पहिलो सातासम्म शतप्रतिशत धान रोपाइँ गरिसकेकोमा यस वर्ष वर्षा कम हुँदा बारा, पर्सामा ७० देखि ७५ प्रतिशतमात्रै रोपाइँ भएको छ। मधेस प्रदेशमा गहिरिँदो जलसंकटलाई सम्बोधन गर्न प्रदेश सरकारले असार २६ गते ‘सुक्खाग्रस्त क्षेत्र’ घोषणासमेत गरेको छ ।जल तथा मौसम कार्यालय सिमराले ३÷३ घण्टामा तापक्रम मापन, हावामा चिस्यानको मात्रा, हावाको दिशा र गति, २४ घण्टामा वर्षाको मापन गरिन्छ ।

थर्मामिटरको माध्यमबाट तापक्रम मापन गरिन्छ । वर्षा मापन रेनगेजबाट हुन्छ भने हावाको दिशा एनोमोमिटरको माध्यमबाट मापन गरिन्छ ।मधेस प्रदेशको जल तथा मौसमको पूर्वानुमानका विवरण नागरिक उड्डयन कार्यालय सिमरा र जनकपुर गरी दुई स्थानबाट प्राप्त हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij