Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

सिनाममंगल डिपाे स्थानान्तरणकाे डिपीआर तयार , मंसिरदेखि निर्माण सुरू

सिनाममंगल डिपाे स्थानान्तरणकाे डिपीआर तयार , मंसिरदेखि निर्माण सुरू

काठमाडौँ : नेपाल आयल निगमको सिनामंगल स्थिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हवाई इन्धन डिपोलाई गुह्येश्वरी स्थित नेपाली सेनाको गल्फ कोर्समा स्थानान्तरण गर्नेसम्बन्धी परियोजनाको डिपिआर तयार भएको छ । यस योजना अन्तर्गत निगमले गत मङ्सिर ५, २०८१ मा स्थानीय कन्सल्टेन्टको रूपमा पुलचोक इन्जिनियरिङ संस्थान, पुलचोकलाई डिपिआरको जिम्मा दिएको थियो ।

सम्झौता अनुसार इन्जिनियरिङ संस्थानले ७ महिनामा परियोजनाको डिपिआर तयार गरी निगमलाई बुझाएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा इन्जिनियरिङ संस्थाले गुह्येश्वरीमा निर्माण गरिने हवाई इन्धन डिपो निर्माणको डिपिआर बुझाएको हो ।

प्रस्तावित निर्माण हुने डिपो अत्याधुनिक तथा पूर्ण रूपमा स्वचालित एल ३ लेबल अटोमेसनयुक्त हुनेछ । यस डिपोमा इन्धन भण्डारणको लागि हाल ३००० किलोमिटर क्षमताका ५ वटा भर्टिकल ट्याङ्कीको निर्माण हुनेछ भने भविष्यमा भण्डारण क्षमता बढाउनको लागि समेत खाली स्थान निर्माण हुने निगमले जनाएको छ ।

यसै परियोजना अन्तरगत इन्धन लोडिङ/अनलोडिङका लागि क्रमशः ६ र ८ वटा बेहरु निर्माण हुने, अन्तर्राष्ट्रिय उडानका जहाजमा इन्धन भर्नको लागि ७ पिट हाइड्रान्ट रिफ्यूलिङ सिस्टम तथा २ वटा रिफ्यूलिङ डिस्पेन्सर पनि रहने निगमले जनाएको छ ।

डिपोमा अग्नि सुरक्षाका लागि २१०० किलोमिटर क्षमताका २ वटा स्ट्याटिस वाटर ट्याङ्की र पूर्ण स्वचालित फाइटिङ सिस्टम समेत जडान हुनेछ ।यसै गरी प्रस्तावित निर्माण हुने डिपोमा प्रशासनिक भवन, प्रयोगशाला भवन, मर्मत संभार यार्ड, लगायत डिपोको सुरक्षार्थ खटिने नेपाली सेनाको लागि अलग्गै भवनको समेत व्यवस्था रहने छ। अन्तर्राष्ट्रिय स्तरका मापदण्डहरू एपीआई ओआईएसडीको पूर्ण रूपमा पालना गर्दै निर्माण हुन लागेको यस डिपोको निर्माण लागत ६ अर्ब ५४ करोड २९ लाख ५ हजार अनुमान गरिएको छ ।

हाल निगमले डिपो निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुट्याई नागरिक उड्डयन प्राधिकरणले साइट क्लियरेन्सको काम अगाडि बढाएको र निगमले यो विस्तृत परियोजना प्रतिवेदन अध्ययन पश्चात् आर्थिक वर्ष २०८२/८३ मा बजेट विनियोजन गरी भाद्र महिनामा सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार बोलपत्र आह्वान गर्ने जनाएको छ । २ महिनाभित्रमा बोलपत्र मूल्याङ्कन लगायतका प्रक्रियाहरू टुङ्ग्याइ यसै आर्थिक वर्षको मङ्सिर महिनामा निर्माण कार्य सुरु गरी दुई वर्ष भित्रमा (२०८४ मङ्सिर सम्ममा) निर्माण सम्पन्न गरी डिपो सञ्चालन गर्ने निगमको योजना रहेको छ ।नेपाल आयल निगम लिमिटेडले साबिकमा रहेको सिनामंगल स्थित हवाई इन्धन डिपो नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८१।०४।२८ को निर्णय अनुसार स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij