मकवानपुर : मकवानपुरको कुलेखानीस्थित सिमखोलामा बेलिब्रिज जडान कार्यलाई तीव्रता दिइएको छ।गत असोजमा आएको भारी वर्षाका कारण कुलेखानी भरिएपछि ‘ओभर फ्लो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुल क्षतिग्रस्त बनेको थियो।क्षतिग्रस्त पुलको पुनर्निर्माणका लागि कुलेखानी जलविद्युत आयोजनाको ड्याममुनिको सिमखोलामा बेलिब्रिज जडान गरी साउनभित्रै सवारीसाधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल सवारीसाधन सञ्चालनका लागि सिमखोलामा डाइभर्सन बनाइएको छ ।यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख इन्जिनियर नवीन कुमार सिंहका अनुसार दक्ष जनशक्ति र आवश्यक उपकरण प्रयोग गरेर काम भइरहेको छ । हालसम्म ८० प्रतिशत काम सकिसकेको छ ।
सिमखोलामा ५७ मिटर लामो बेलिब्रिज हाल्नुपर्ने भएकाले भैंसे–भीमफेदी सडकखण्डको घट्टेखोलामा रहेको १३ मिटर र मान्डु खोलामा रहेको ५० मिटर लामो बेलिब्रिज प्रयोग गरिएको छ । ती दुबै स्थानमा पक्की पुल निर्माण भइसकेकाले बेलिब्रिज प्रयोगविहीन अवस्थामा थिए। साउन १५ गतेभित्र बेलिब्रिज जडान गरी सवारी साधन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।बेलिब्रिज राख्न, पक्की पहुँच मार्ग बनाउन र पुल वरपरको क्षतिग्रस्त सडक निर्माण गर्न गौरव इन्जिनियर्स प्रालिले १ करोड ७९ लाख रुपैयाँमा ठेक्का लिएको छ । बेलिब्रिज निर्माण सम्पन्न भएपछि हेटौँडा–काठमाडौँ सडकमा सहज रूपमा यातायात सञ्चालन हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij