Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

“पदम गिरीको पीडा : ८७ बंगुर मरेर १८ लाख गुम्यो, बिमाले भुक्तानी दिएन”

“पदम गिरीको पीडा : ८७ बंगुर मरेर १८ लाख गुम्यो, बिमाले भुक्तानी दिएन”

रत्ननगर : खैरहनी नगरपालिका वडा नं. ४ चैनपुरमा गौशाला एकीकृत कृषि तथा पशु फार्म सञ्चालन गर्दै आएका पशुपालक किसान पदम गिरीले बिमा कम्पनिले मरेका बंगुरको बिमा भुक्तानी नदिएको भन्दै पीडा व्यक्त गरेका छन्। रत्ननगरमा आयोजित पत्रकार सम्मेलनमा गिरीले युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आफूलाई नियतवश ठगेको आरोप लगाएका छन्।

गिरीले आफ्नो फार्ममा रहेका २० वटा बंगुरको बिमा गरेका थिए। २०७९ साल भदौ २४ देखि २८ गतेसम्ममा उनको फार्ममा ८७ वटा बंगुर मरेका थिए, जसबाट करिब १८ लाख रुपैयाँको नोक्सानी भएको उनले बताए। तीमध्ये २० वटा बंगुरको बिमा गरिएको थियो। बंगुर मरेको २४ घण्टाभित्रै सबै आवश्यक कागजात र प्रमाणहरू पेश गरेको गिरीको दाबी छ। बिमा ट्याग लगाइएका मरेका बंगुरको फोटो, टोल विकास संस्था, इलाका प्रहरी कार्यालय खैरहनी, वडा कार्यालय र नगरपालिकाको पशुपन्छी शाखाबाट प्रमाणित कागजात पेश गर्दा पनि कम्पनीले भिडियोको अभावमा भुक्तानी नदिएको उनले गुनासो गरे।

“मरेका बंगुरलाई एक्साभेटरले खनेर पुरेको फोटोसम्म पठाउँदा पनि कम्पनीलाई प्रमाण पुगेन,” गिरीले आक्रोशित हुँदै भने, “यो सरासर किसानलाई मार्ने नियत हो।” उनले २० वटा बंगुरको प्रतिवटा १७ हजारका दरले कुल ३ लाख ४० हजार रुपैयाँ भुक्तानी पाउनुपर्ने माग गरेका छन्।

पत्रकार सम्मेलनमा गिरीले युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले किसानको हितमा काम नगरेको र किसानलाई लुट्ने नियत राखेको आरोप लगाए। “यस्तो कम्पनीलाई विश्वास गर्न सकिँदैन,” उनले भने, “यदि भुक्तानी नदिएमा बकुलहरस्थित कम्पनीको शाखा कार्यालयमा तालाबन्दी गर्न बाध्य हुनेछु।”

गिरीको यो गुनासोले पशुपालक किसानहरूको बिमा प्रक्रियामा देखिएको जटिलता र इन्स्योरेन्स कम्पनीहरूको जवाफदेहिताको प्रश्न उठाएको छ। किसानहरूले मेहनत र लगानीबाट सञ्चालन गरेको व्यवसायमा यस्ता समस्याले थप आर्थिक बोझ र मानसिक तनाव थपिएको गिरीको भनाइ छ। उनले सम्बन्धित निकाय र कम्पनीले आफ्नो माग तत्काल सम्बोधन गर्नुपर्ने माग गरेका छन्।यस विषयमा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको आधिकारिक धारणा भने आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट