डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिका –२ का कृषकले व्यावसायिक रूपमा अनार खेती गरेर वार्षिक रु ५० लाख कमाउने लक्ष्य राखेका छन् । अजयमेरु–२ स्थित बडीमा बाँझो रहँदै आएको सात सय रोपनी जमिन अहिले अनारका बोटले भरिएको छ ।
वार्षिक रु ५० लाख आम्दानी गर्ने लक्ष्यसहित यहाँका कृषकले व्यावसायिक अनार खेती सुरु गरेका हुन् । महादेव अनार खेती समूहले स्थानीय किसानलाई सङ्गठित गर्दै रु २० हजार वार्षिक भाडा तिरेर उक्त जमिन उपयोगमा ल्याइएको हो ।
दश महिनाअघि रोपिएका १० हजार अनारका बिरुवामध्ये हालसम्म आठ हजारभन्दा बढी बिरुवा सप्रिएका अनार खेती समूहले जनाएको छ । यसै वर्षदेखि फल दिन थालिसकेका जनाउँदै समूहका अध्यक्ष मदनराज पनेरुले बिरुवा रौतहटबाट मगाइएको बताए ।
जिल्लास्थित कृषि ज्ञान केन्द्र र समूहको संयुक्त आर्थिक लगानीमा सञ्चालित यो आयोजनामा अहिलेसम्म रु ६५ लाख लगानी भइसकेको अध्यक्ष पनेरुले जानकारी दिए । उनका अनुसार स्थानीय सरकार र कृषकको सहकार्यमा सञ्चालन भएको यस कार्यक्रमलाई कृषि पर्यटनसँग जोड्दै थप प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
बृहत् अनार खेती कार्यक्रमलाई कृषि पर्यटनका रूपमा विकास गर्ने प्रयास थालिएको अजयमेरु–२ का वडाध्यक्ष शिवराज भट्टले बताए । बडीमा सुरु गरिएको बृहत् अनार खेती परियोजना भविष्यमा कृषि पर्यटनको आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले सो क्षेत्र अनार खेतीका लागि उपयुक्त भएकाले ‘अनार खेतीको जोन’ का रूपमा आगामी दिनमा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।किसानले लगाएको अनार फल्न सुरु भएकाले सो क्षेत्र व्यावसायिक अनार खेतीका लागि उपयुक्त मानिएको उनले बताए । उनका अनुसार अनार दुई हजार मिटर अग्लो स्थानसम्म फल्ने गर्दछ । रासस
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij