Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भदौदेखि देवघाटमा विद्युतीय शवदाह सञ्चालनमा आउने

भदौदेखि देवघाटमा विद्युतीय शवदाह सञ्चालनमा आउने

चितवन: पवित्र धार्मिक तीर्थस्थल देवघाटमा सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह भवनको निर्माण कार्य सम्पन्न भएको छ। विद्युत् र मेसिन जडानसँगै आगामी भदौदेखि शवदाह पूर्ण रूपमा सञ्चालनमा आउने भएको हो।

विक्रम संवत् २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै अहिले सम्पन्न भएको हो। मिलिनियम सिद्धगढी जेभीले ठेक्का पाएको शवदाह भवन सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरले निर्माण गरेको हो। कार्यालयका प्रमुख झपटबहादुर थापाका अनुसार साउनभित्रमा शवदाह भवनको बाँकी काम सम्पन्न गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी छ।

भवनको निर्माणसम्पन्न भए पनि यसमा विद्युत् जोड्ने, शवदाहको मेसिन जडान, प्रविधिलाई तालिमलगायतको काम बाँकी रहेको उनले जानकारी दिए। यी सबै काम सम्पन्न गरेर शव पोल्ने जनशक्तिलाई तालिम दिएपछि दायित्व पूरा हुने उनको भनाइ छ। आन्तरिक तयारीको सबै काम सकिएपछि भवन हस्तान्तरण गरिने उनले बताए।

भवनको काम हेर्दै आएका कार्यालयका इन्जिनियर द्रोण कटुवालका अनुसार विद्युत् जडानका लागि मिटर आइसकेको छ। केही दिनमा मिटर जडान हुनेछ। यससँगै महानगरपालिकाले पठाउने जनशक्तिलाई तालिम दिइनेछ। भवनमा दुईवटा शवदाह गर्ने मेसिन जडान गरिएको छ। ती मेसिनले अधिकतम ९० मिनेटमा शवलाई जलाउनेछन्। शव राख्नुपर्दा चारवटा शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ।

बर्सातमा पानीको सतह माथि आएकाले भुइँतला खाली गरी माथिल्लो तलामा उपकरण जडान गरिएको छ। क्रियापुत्री बस्नका लागि ठाउँ छुट्याइएको छैन।आवश्यकता अनुसार क्रियापुत्रीका लागि भुइँतलामा व्यवस्थापन गर्न सकिने उनले बताए। भवनमा शौचालय, स्नानघरलगायतका सुविधासमेत रहेको छ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले विद्युतीय शवदाहले धेरै सहज हुने बताए। उनका अनुसार सरदर हिसाब गर्दा दैनिक सात दशमलव पाँच शव देवघाट आउने गर्दछन्। ती शव अन्त्येष्टि गर्न अहिले एक महिनामा रु दुई लाख ५० हजारको दाउरा खरिद गर्नुपरेको छ। विद्युतीय शवदाह सञ्चालनसँगै दाउराको खपत घट्ने उनको भनाइ छ।

बर्सातमा शव जलाउन कठिन हुने, दाउराको समस्या, समयको बचत सबै विषयले शवदाह धेरै प्रभावकारी हुने उनले बताए। सहरी विकास कार्यालयले रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो। शवदाह भवन ६०० वर्गमिटर क्षेत्रफलमा बनेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट