बनेपा : अविरल वर्षासँग आएको पहिरोका कारण दोलखाको सिंगटी–लामाबगर र लापिलाङ सडक अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार दोलखाको बिगु गाउँपालिका १ सोल्टीमोडमा पहिरो खस्दा सिंगटी लामाबगर सडकखण्ड अवरुद्ध भएको हो ।
सडक खुलाउने पहल भइरहेको तर खुल्न केही समय लाग्न प्रहरीले जनाएको छ ।दोलखा प्रहरीका अनुसार कालिन्चोक गाउँपालिका ६ लापिलाङ जाने सडक पनि अवरुद्ध भएको छ ।गोदुङ भन्ने ठाउँमा खहरेखोलाको पानी राति जमेर एकैपटक खुल्दा सडकमा क्षति पुगेको छ ।
यसैबीच, पहिरो र लेदोको कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ ।पहिले गएको पहिरोकै माथिल्लो स्थानबाट लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सिन्धुपाल्चोक प्रहरी अनुसार अहिले पहिरो पन्छाउन एक्स्काभेटर, लोडर प्रयोग भइरहेको छ ।सडक अवरुद्ध भएपछि ठूला सवारी र कन्टेनर बाटोमै रोकिएका छन् । सडक अवरुद्ध सँगै जुरेमा बिजुलीको पोल ढलेको छ ।
त्यस्तै महभीरमा सडक भास्सिएको प्रहरीले जनाएको छ।पहिरोले सीमावर्ती तातोपानी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबीसे नगरका स्थानीय प्रभावित भएका छन्।पहिरोका कारण तातोपानी नाकाबाट सामग्री ल्याएका र लिन गएका कन्टेनर रोकिएका छन् ।
२०७१ साल साउन १७ गते अन्तर्राष्ट्रिय क्षेत्रमै हलचल मच्चाउने गरी जुरे पहिरो गएको थियो । उक्त पहिलोले सिन्धुपाल्चोकको पाँच गाउँ सुनकोसी नदीमा बिलय गराउँदा एक सय ४५ जनाको एकै पटक निधन भएको थियो ।पहिरोले बर्खामा उर्लिएको सुनकोसी नदी लगातार ११ घण्टासम्म थुनिएपछि विशाल कृत्रिम ताल बन्दा तटिय क्षेत्रमा समेत जोखिम उत्पन्न भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij