Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनका सुनचाँदी पसलहरु अनिश्चितकालीन बन्द हुने

चितवनका सुनचाँदी पसलहरु अनिश्चितकालीन बन्द हुने

चितवन : चितवनका सुनचाँदी पसलहरु अनिश्चितकालीन बन्द हुने भएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको आयोजनामा चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवन र रत्ननगर सुनचाँदी व्यवसायी संघ (नगर संघ)को संयुक्त सहभागितामा आयोजित व्यवसायिक भेलाको निर्णयअनुसार शनिबारदेखि लागू हुनेगरी अर्को सूचना नहुँदासम्म चितवनका सुनचाँदी पसलहरु पुनः बन्द हुने भएका हुन् ।

सरकारसँग सहमति भएपछि कार्यदलले आफ्नो काम गरिरहेको बेला एकाएक राजश्व कार्यालयले विभिन्न जिल्ला तथा नगर संघहरुलाई परिपत्र गर्दै विलासिता शुल्कसहितको बिल बिजक ढाँचा पठाएपछि सुनचाँदी व्यवसायीमा तरंग छाएको नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माले बताए ।

उनले कार्यदल छलफल मै रहिरहेको बेला यस्ता किसिमका परिपत्रका कारण व्यवसायीहरू आतंकित बनेपछि आफूहरुले बाध्य भएर चितवन जिल्लाका सम्पूर्ण सुनचाँदी पसलहरु बन्द गर्ने निर्णय गरिएको बताए । यस बन्दले सरकारलाई व्यापक दबाब पुग्ने र कार्यदललाई बल पुग्ने उनले बताए ।

चितवनका सुनचाँदी व्यवसायीहरूको म्याण्डेट पाएर नै अव्यावहारिक करको खारेजीको माग गर्दै अर्को सूचना नहुँदा सम्मका लागि पसलहरु बन्द गर्न लागिएको नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष उत्सव खाती विकले जानकारी दिए ।

यसअघि चितवनका सुनचाँदी व्यवसायीहरू सुन र सुनका गरगहनामा लगाएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरहरूमा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)को विरोधमा असार १३ गतेदेखि असार २६ गतेसम्म पसलहरु बन्द गरी आन्दोलनमा रहेका थिए ।

गत असार २६ गते आन्दोलनरत सुनचाँदी व्यवसायी र सरकारबीच ६ बुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट