Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

कीर्तिपुरको बाघभैरव र देवनाच

कीर्तिपुरको बाघभैरव र देवनाच

जातीय अस्तित्व, ऐतिहासिक, भाषिक र पुरातात्त्विक महत्त्वका आधारमा उपत्यकालाई नेपालको केन्द्र मानेर काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली लगायत ११ जिल्लाको नेवार समुदायको बाहुल्य भएको क्षेत्र नेपाल मण्डल विविधतायुक्त नेवार समुदायको मूलरूपले शैव र बौद्ध धर्मावलम्बीहरू भएको देश भए पनि यहाँ मुस्लिम, क्रिस्चियन, कापलिक, पहरी आदि अनेक धर्मावलम्बीको बसोवास रहँदै आएको छ । यहाँको सम्पर्क भाषा मुख्य गरी काठमाडौँ नेवार भाषा, भक्तपुर नेवार भाषा, दोलखा, बलामी, चौथली, गोपाली, प्याङ, पहरी आदि हुन् ।

यस प्रकार धार्मिक र विविध भाषाभाषी भएको काठमाडौँ उपत्यकाको एउटा सुन्दर नगरको नाम कीर्तिपुर हो । यसको संस्कृति नाम कीर्तिपुर पद्मकाष्ठगिरी हो भने पुरानो नाम गुँदेय् हो ।

बागमती अञ्चल, काठमाडौँ जिल्लामा पर्ने यो कीर्तिपुरको आफ्नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व छ । कीर्तिपुर र कीर्तिपुरमा भएको बाघभैरवको विषयमा विभिन्न विद्वानले धेरै अध्ययन, अनुसन्धान गरी आ–आफ्नै किसिमका लेख प्रकाशित गरिसकेका छन् । यही क्रममा लक्ष्मण राजवंशीले कीर्तिपुरको इतिहास केलाएर आफ्नो न्हसला निबन्ध संग्रहमा भित्रिएको फ्याफः न्हाय् (ठुट्टो नाक) निबन्धमा गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर जितेको घटना उल्लेख गर्नुभएको छ ।

नेपाल एकीकरणको अभियानमा पृथ्वीनारायण शाहको गोर्खाली सिपाहीहरू कीर्तिपुरको डाँडा उक्लिरहेको बेलामा कीर्तिपुरवासीहरूले माथिबाट ढुङ्गा खसालेर धपाएर पठाएको इतिहास छ । त्यसैले पृथ्वीनारायण शाहको कीर्तिपुर जित्ने पहिलो प्रयास असफल भयो । दोस्रो प्रयासमा सयौँ गोर्खाली सिपाहीहरू लिएर कीर्तिपुरमा युद्ध गर्न आएका कालु पाँडेलाई कीर्तिपुरका बासिन्दाले घाँटी रेटेर भैरवको मुखमा रगत बगाए । कालु पाँडेलाई भैरवलाई बलि दिएको कुरा सुनेर खस राजा किंकर्तव्यविमूढ भएको उल्लेख छ ।

भेष बदलेर बेलुकी बास बसेको ठाउँको अजिले भात ख्वाउँदाखेरि दिएको अर्तीको बारेमा पृथ्वीनारायण शाहले बुझे । अनि त्यही अजिले भने अनुसार कीर्तिपुरमा आक्रमण गर्ने योजना बनाए । एकैचोटि कीर्तिपुरमा कालु पाण्डेलाई मारेर ढुक्क भएर गहिरो निद्रामा परेका कीर्तिपुरका बासिन्दाले चालै नपाउने गरी रातको समयमा दायाँबायाँबाट जित्दै चारैतिरबाट बन्धनमा पारी गोर्खाली सिपाहीहरू कीर्तिपुरभित्र पसेका थिए । लोग्नेमान्छेहरू एकजना पनि बाँकी नरहेपछि कीर्तिलक्ष्मी आफैँ खड्ग लिई बाहिर निस्किन् । त्यहाँ कोही लोग्नेमान्छेहरू भएनन्, केही महिला र बच्चाहरू मात्र बाँकी भए । कीर्तिलक्ष्मीसँगै कीर्तिपुर पनि ढलेको इतिहासमा उल्लेख छ । यस प्रकार शाहवंशले ढाँटेर जितेको ऐतिहासिक देश हो कीर्तिपुर ।

लोग्नेमान्छेहरू एकजना पनि बाँकी नरहेपछि कीर्तिलक्ष्मी आफैँ खड्ग लिई बाहिर निस्किन् । त्यहाँ कोही लोग्नेमान्छेहरू भएनन्, केही महिला र बच्चाहरू मात्र बाँकी भए । कीर्तिलक्ष्मीसँगै कीर्तिपुर पनि ढलेको इतिहासमा उल्लेख छ । यस प्रकार शाहवंशले ढाँटेर जितेको ऐतिहासिक देश हो कीर्तिपुर । नेपालमा प्रसिद्ध आठ भैरव छन् । ती आठ भैरवको नाम आकाश भैरव (आजुद्यः), पचली भैरव, काल भैरव, श्वेत भैरव, भैरव, टीका बटुक भैरव, उन्मत्त भैरव र बाघ भैरव हुन् । यी आठ भैरवमध्ये कीर्तिपुरमा भएको भैरवको नाम बाघ भैरव हो ।

एउटा किंवदन्ती अनुसार पहिले मच्छे गाउँमा ठुलो ढुङ्गाको मूर्तिलाई बाघ भैरव नामकरण गरी स्थापना गरिएको थियो । यो ढुङ्गाको मूर्ति सजीव भएर कीर्तिपुरको वरिपरि घुमिरहन्थ्यो । सो ढुङ्गा त्यसरी घुमिरहेको कीर्तिपुरका बासिन्दाहरूले देखेर तिनीहरूले देवतालाई यो ठाउँ मनपरेको सम्झिए र दश–बाह्रजना कीर्तिपुरका बासिन्दा मिलेर त्यस ढुङ्गाको मूर्ति बोकेर ल्याए । धल्पा फाँटमा पुगेपछि मूर्ति लिन जानेहरूलाई थकाई लागेपछि त्यो ढुङ्गालाई त्यहीँ छाडेर उनीहरू घरतिर फर्के । भोलिपल्ट त्यो देवता लिन जाँदा त्यस धल्पा फाँटमा नभेटेपछि खोज्दै हेर्दै जाँदा देवता पुरानै ठाउँमा बसिरहेको रहेछ । दुई–चारपटक प्रयास गर्दा पनि त्यसलाई कीर्तिपुरमा ल्याउन सकिएन । अनि कीर्तिपुरवासीले यो देवता कीर्तिपुरमा ल्याउन नसक्ने भनेर दर्शनको लागि त्यहीँ नै जाने गरे ।

अर्को किंवदन्ती अनुसार आठ–दशजना गोठालेहरू मिलेर माटोको बाघको मूर्ति बनाए । बाघलाई जिब्रो राख्न जिब्रोजस्तै देखिने रूखको हाँगा खोज्न गए । रूखको बोक्रा खोजी लिएर आउँदा गोठालेहरूले माटोको बाघ सजीव भएर तिनीहरूको भेडा, बाख्राहरू सबै खाएको पाए । आफ्नो वस्तु नदेखेर गोठालेहरू रुन थाले । त्यहीबेला सजीव भएका बाघले ‘तिमीहरूको भेडा बाख्रा सबै मैले खाइसकेँ’ भनेर मुख बाएर देखाए । आफूले बनाएको मूर्तिले आफ्नै वस्तु खाएको भनेर रिसले जिब्रो नहालीकन श्राप दिए, ‘तिम्रो मुख सधैँ यसरी नै खुला होस्’ गोठालेहरूले यसरी श्राप दिएको हुनाले बाघ भैरवको मुख जहिले पनि खुला भएको भनिन्छ ।

कीर्तिपुरको दक्षिणपूर्वतर्फ एउटा जंगल छ । त्यो जंगलको छेउमा एउटा ठुलो पानीको मुहान भएको एउटा इनार छ । त्यसलाई लक्ष्मी तुं (लक्ष्मी इनार) भनिन्छ । त्यस समयमा कीर्तिपुरका अधिकांश जनताहरू त्यही इनारको पानीमा निर्भर थिए । त्यस इनारको पानी सफा मात्र होइन कि त्यहाँको पानीले कुनै प्रकारको रोगले छुँदैन भन्ने विश्वास थियो । त्यसैले मानिसहरू टाढा–टाढाबाट त्यहाँ पानी लिन आउने गर्दथे । त्यो इनार हालसम्म पनि छ ।

बाघ भैरवको विषयमा ज्यातिषहरूले हात्ती, राँगो चढ्ने भन्छन् । कहिले देवजातको अवतार लिने, रातो वस्त्र मनपर्ने, सेतो ओछ्यान–ओढ्ने मनपर्ने, गोलोचन, कंगन, बाजू आदि आभूषणयुक्त, धनुष र वाण धारण गर्ने क्रोधित मुद्राको मूर्ति भनेर वि.सं. २००४ र २००५ सालको पञ्चांगमा वर्णन गरिएको छ । त्यस समयका तान्त्रिकहरूको विचार अनुसार त्यस बाघको मूर्तिलाई नै बाघ भैरव नामकरण गरी राँगा, बोकासहित बलि दिएर पूजा गरी मानव तथा अरू जीवजन्तुलाई दुःख दिन पाउँदैनौँ भनेर वाचा गराई सिंह संक्रान्ति भाद्र १ गतेको दिनमा बाघ भैरवको खटजात्रा गर्ने चलन चलाएको किंवदन्ती छ । बाघ भैरवको जात्रा गर्नुअघि बाघ भैरवलाई हिचाफः, खनाहिति, चिथुहिति, लक्ष्मीतुं आदि ठाउँको जल ल्याएर पञ्चामृतले स्नान गराई विधिपूर्वक पूजाआजा गरिन्छ ।

उपत्यकाको प्राचीन बस्तीको रूपमा प्रसिद्ध कीर्तिपुरका आदिवासीहरूले यस बाघ भैरवलाई आजुद्यः भनेर आफ्ना पुर्खाको रूपमा मान्दै आएका छन् । बाघ भैरवलाई कतिपय नेवारहरूले दिगुद्यः देवाली देवताको रूपमा समेत मानिआएका छन् । त्यसमध्ये वि.सं. १६३० देखि १८२५ सम्म १९५ वर्ष राज्य सञ्चालन गर्ने कल्याण सिंहको वंशजहरूले आजसम्म पनि बाघ भैरवलाई देवाली देवता मानी आएका छन् ।

बाघ भैरव जंगलको रूख काट्यो भने बाघले दुःख दिन्छ पनि भनिन्छ । त्यसैले कसैले पनि त्यहाँ भएको एउटै रूख पनि काट्दैनन् । एकदिन एकजना मानिसले कसैले नदेख्ने गरी लुकेर त्यहाँको एउटा रूख काट्न लाग्दा अकस्मात् एउटा बाघ आएर उसलाई लखेट्छ । तीन तले पैगोडा शैलीको मन्दिरभित्र जंगली बाघको मुहारभन्दा पनि ठुलो मुहारमा टल्ल टल्किरहने दुईवटा आँखा राखी, अगाडि दुई ठुला–ठुला पञ्जा भएका भयंकर मूर्तिलाई अनेक मूर्ति कोरिएको बाक्लो पित्तलको पातामा विराजमान गराइराखेको बाघ भैरवलाई समय–समयमा श्रद्धालु भक्तजनहरूले चाँदीको मुण्डमाला, सर्प, किंकिंपा आदि गहना चढाउने गर्छन् । मुन्सी खलकको नामले प्रसिद्ध प्रधानहरूको नयाँ दुलही भित्र्याउनलाई माइतीबाट पठाएको पूजा सामग्रीसहित बोका बलि दिएर चाँदीको किंकिंपा चढाएर देवाली पूजाको दिनमा नभित्र्याएसम्म बाघ भैरवकहाँ जानु हुँदैन भन्ने कथन छ । त्यसरी नै बच्चाको पास्नी गरिसकेको छोराको नाममा पनि बोका बलि दिएर देवाली पूजामा भित्र्याएपछि मात्र बाघ भैरवकहाँ भित्र जानहुन्छ भन्ने चलन छ । बच्चा पास्नी सकेको छोरीलाई किसली (सानो माटोको पालामा चामल, सिँगो सुपारी र दक्षिणा राखेको) एउटा चढाएर भित्र्याउने चलन छ ।

बाघ भैरवको नित्य पूजा गर्नेबेलामा गुंला थ्व पारुदेखि गुंला गाः आमै(गोकर्ण औँशी) सम्म सीगुंला बाजा बजाएर पूजा गरिन्छ । त्यसपछि ञला बाजा बजाएर पूजा गर्ने चलन छ । अरू बेलामा पनि समय अनुसारको बाजा बजाएर पूजा गर्ने चलन यथावत् छ ।

बाघ भैरवको विशाल मन्दिर वरिपरि गणेश, नारायण, इन्द्रायणी, सरस्वती, विश्वकर्मा आदि देवताहरूको मन्दिर पनि अवस्थित छन् । बाघ भैरवलाई बलि दिने काम बाघ भैरवको मन्दिरबाहिर भएको भैरवकहाँ हुने गर्छ । कीर्तिपुरको सबैभन्दा अग्लो मन्दिर क्वाचोटोलको उमामहेश्वरको मन्दिर हो । यो मन्दिर ने.सं. ७७५ मा ललितपुर त्वंबहाःका पात्रवंश राउत विश्वनाथ बाबुले बनाएका हुन् ।

देवदेवीको आख्यानको आधारमा मुकुण्डा लगाएर नाच नचाउने परम्परा नेपालको उपत्यकामा धेरै ठाउँमा कायम छ । यस्तो नाचको लागि विविध विधि अनुसार मुकुण्डो बनाउने प्रचलन आजसम्म छ । चित्रकारहरूले देव, देवीको भाव र आकृति देखिने गरी कोरिराखेको मुकुण्डो लगाई नाच्ने नाचका मुकुण्डोलाई भलभल अष्टमीको दिनमा जलाउने चलन छ । कुनै गंछि नाचको मुकुण्डोहरू सीबाजं बनाएर मसानमा लगेर दागबत्ती दिएर जलाउने गरिन्छ । कुनै नाचको मुकुण्डो भने अर्को वर्षको लागि देवघरमा सुरक्षित राख्ने गरिन्छ । जलाउने मुकुण्डोका ठाउँमा अर्को वर्षका लागि अर्कै बनाई जीवन्यास गरी प्रयोग गर्ने चलन छ । बाघ भैरव नाचको मुकुण्डो पनि वर्षको एकचोटी विधिपूर्वक दाह संस्कार गरी अर्को वर्षमा त्यस्तै नै अर्को मुकुण्डो बनाइ जीवन्यास गरी प्रयोग गर्ने चलन छ ।

इष्टदेवीको रूपमा स्थापित तीन मातृकाहरू महालक्ष्मी, महाकाली र महासरस्वतीलाई प्रत्येक शहरको आठ दिशामा अष्टमातृकालाई शहर रक्षाका लागि स्थापना गरी तीन मातृकालाई विभिन्न नाच नचाउने प्रचलन अहिलेसम्म छ । यस्ता नाचहरू निश्चित समयमा, निश्चित ठाउँमा नचाउने चलन छ । यस्ता नाचमध्ये कुनै प्रत्येक वर्ष–वर्षमा र कुनै ६ वर्षका एकचोटि अनि कुनै बाह्र वर्षमा एकचोटि नचाउने चलन छ । मुकुण्डो लगाएर तन्त्र र विधिको आधारमा नचाउने नाचलाई अनुस्थानिक नाच भनिन्छ । तान्त्रिक विधि अनुसार तन्त्रले नै मुकुण्डोमा जीवन्यास गर्ने हुनाले यस्ता नाचका आफ्नै इतिहास र अस्तित्व रहेका हुन्छन् । अनुस्थानिक नाचमा बाजाको ताल र भूमिकाको धेरै महत्व रहन्छ ।

वर्ष–वर्षमा जात्रा गर्ने बाघ भैरवको जात्रामा बाघ भैरवको अर्को मूर्ति खतमा राखी बाजागाजासहित कीर्तिपुर शहरको टोल–टोलमा परिक्रमा गराइन्छ । त्यसबेला झीझाग र कोतभा नामका लाखेनाच पनि नचाउन पर्छ ।

बाघ भैरव प्रकट भएपछि कीर्तिपुरमुनि भएको जंगललाई बाघ भैरव जंगल भन्ने गरियो । त्यस जंगलमा कालघाट नाम भएको एउटा ऐतिहासिक धारा छ । त्यो धाराको पानी पिउने बेलामा केही समयसम्म जिब्रो कालो हुन्छ भनिन्छ । एकदिन त्यस धाराको नजिकै एउटा बाघ आएर सुतिरहेको रहेछ । त्यसबेला एकजना पाँचवर्षे बालकले खेतमा भएको गहुँले तुरुतुरु बाघकहाँ फालिरह्यो । तैपनि बाघले वास्तै नगरी पुच्छरले झिँगा धपाई सुतिरह्यो । आमा बुबाले बालकलाई बाघले खाला भनेर तान्न थालेपछि बाघ उठेर त्यही गहुँबारीभित्र गयो भन्ने कथन छ ।

बाघ भैरव जंगलको रूख काट्यो भने बाघले दुःख दिन्छ पनि भनिन्छ । त्यसैले कसैले पनि त्यहाँ भएको एउटै रूख पनि काट्दैनन् । एकदिन एकजना मानिसले कसैले नदेख्ने गरी लुकेर त्यहाँको एउटा रूख काट्न लाग्दा अकस्मात् एउटा बाघ आएर उसलाई लखेट्छ । बाघले पहलमानले झैँ त्यो मानिसलाई झम्टिन्छ अनि त्यही चौरमा फालिदिन्छ । पछि त्यो मानिसको वंश नै नाश भएको किंवदन्ती छ ।

उपत्यकाको प्राचीन देवनाचहरूमध्ये कीर्तिपुरको बाघ भैरव नाच पनि एक हो । यो नाग गथांमुगःका दिनदेखि सुरु हुन्छ । नाचको तयारीको रूपमा गथांमुगः (घण्टाकर्ण)को दिनमा पहिले बाघ भैरव मन्दिरअगाडि बेलुकी नासःद्यः (नाट्येश्वर) लाई बोका, राँगो, कुखुरा, हाँस आदि बलि दिएर तान्त्रिक विधि अनुसार पूजा गरिन्छ । नासःद्यःलाई बलि दिई गुठको नासःद्यः भएको ठाउँमा तान्त्रिक विधिले नासःद्यः तानिन्छ । त्यसबेलामा बाघ भैरव नाचको पात्रहरूलाई मोहनी टीका लगाइदिएर देवता आह्वान गरिन्छ । अष्टमातृकाको शक्ति (कोटघर) पीठमा हाँस एउटा छोडेर तान्त्रिक गुह्य पूजा गरी अत्यन्त गोप्य ठाउँमा नाच सिकाइन्छ । तीनपटकसम्म इन्द्रायणी पीठमा मुकुण्डो नलगाई सेतो वस्त्र धारण गरी देवताहरू नाच्छन् । दसैँको महादशमीको दिन मात्र मुकुण्डो र पोसाक सुम्पिने काम हुन्छ । अनि बाजा गाजासहित देवताहरूलाई कीर्तिपुरको ठाउँ–ठाउँमा परिक्रमा गराई पूजा गराउन लगिन्छ । चारदिन पछि मात्र मल्लकालीन दरबार क्षेत्र ढोका अगाडि नाच नचाइन्छ । आजभोलि यो ठाउँलाई सतः भन्ने गरिन्छ ।

पहिले–पहिले यो बाघ भैरवको नाच हनुमानढोकामा र ललितपुरको दरबार अगाडि अनिवार्य रूपमा नचाउनुपथ्र्यो । त्यसरी नै थानकोट, सतुंगल, बेसीगाउँ, बुंगमती, चोभार आदि ठाउँमा बाघ भैरव नाच नचाउन लैजानुपर्छ । आजभोलि आर्थिक अभावले गर्दा अनिवार्य ठाउँमा मात्र लाने गरिएको छ ।

बाघ भैरव नाच पनि तछला गाः भलभल अष्टमीको दिनमा विधिपूर्वक विसर्जन गरिन्छ । यो दिनमा आवश्यक पूजा विधिसम्पन्न गरी कीर्तिपुरको नगाउँमा सीजा (मृत्युभात) खुवाउने चलन छ । त्यसपछि देवताहरूलाई लस्करै राखेर कीर्तिपुरभित्र ल्याइन्छ । देवताहरू निश्चित ठाउँमा पुग्नासाथ लासझैँ हुन्छन् । गणेश एकजनाबाहेक अरू सबै देवताहरू लासझैँ हुन्छन् । सबैभन्दा पछि बाघ भैरव आफ्नो मन्दिरको अगाडि मण्डपमा ढल्छ । लासझैँ भएका देवताहरूलाई मानिसहरूले लास बोकेझैँ गरी दरबार टोलबाट लगेर लस्करै राखेर सेतो कपडाले छोप्छन् । नढलेको गणेश देवताले लक्ष्मीगाःको पानी ल्याई लास भएका देवताहरूलाई पिलाई जागृत गराउँछन् । अनि देवताहरू सबै इन्द्रायणी पीठतिर लस्करै अघि सर्छन् । देवताहरू फेरि पहिलेझैँ ठाउँ–ठाउँमा ढल्छन् । इन्द्रायणी पीठमा पुगेपछि देवताहरूलाई फेरि जागृत गराइन्छ र उनीहरूले मुकुण्डोको शक्ति निकाल्छन् । अनि देवता हुने पात्रहरूले आ–आफ्नो मुकुण्डो हातले समाई मानिसहरू मलामी जानेजस्तो रोएर दिखुस मसानमा लगी विधिपूर्वक मुकुण्डोको दाहसंस्कार गर्छन् ।

यो नाचमा भैरवको प्रमुख भूमिका भएकोले नाचको नाम बाघ भैरव नाच नामकरण भएको हुनुपर्छ । स्थानीय माली समुदायको सहभागितामा नचाउने उक्त नाचलाई गथुप्याखं पनि भनिन्छ । अष्टमातृकासहित आवश्यक देवताहरू भएको गण नाच हो । यो नाचमा गणेश, ब्रह्मायणी, रुद्रायणी, कौमार, वैष्णवी, वाराही, काली, इन्द्रायणी, सिंहिनी, व्याघ्रिनी, श्वेत भैरव र महादेव आदि देवताहरू हुन्छन् ।

यो नाचकै सन्दर्भमा एउटा छोटो पौराणिक घटना पनि समेटिएको छ । पेट दुखेर छटपटिरहेको श्वेत भैरवको हातमा पर्न गएको माछा पोलेर खान लागेका बेलामा इन्द्रायणी प्रवेश भई पेट दुखेको श्वेत भैरवलाई चामल ढोगाएर छरी दिएर पेट दुखेको निको पारिदिन्छ । इन्द्रायणीलाई श्वेत भैरवको छोरी पनि भनिन्छ । पेट दुखेको निको पारिदिएकाले खुसी भएर श्वेत भैरवले इन्द्रायणीलाई बोकेर घुमाउँदै नचाउँछ र नाच सम्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij