काठमाडौँ : साहित्यकार गोकर्ण मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण भएको छ । रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको उक्त उपन्यायको आज यहाँ आयोजित कार्यक्रममा प्राडा गोविन्दराज भट्टराई र प्राडा कुमारप्रसाद कोइरालालगायत साहित्यकारले संयुक्त रूपमा विमोचन गरे ।
शिक्षा, उमेर, परिश्रम गर्ने क्षमता, आर्थिक अवस्था बलियो हुँदाहुँदै मजदुर, विद्यार्थी, कर्मचारी, उद्योगपतिका नाममा नेपाली युवामा विदेशप्रतिको मोह तथा त्यसका लागि सरकारले ऋणलगायतका सुविधा उपलब्ध गराएर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पुर्याइएको सहयोगलाई उपन्यासमा मूल रूपमा प्रस्तुत गरिएको छ । लामो समय शिक्षणमा संलग्न साहित्यकार मल्लको यो तेस्रो सृजना हो ।
त्यस अवसरमा प्राडा भट्टराईले ‘निर्गम’ वर्तमान यथार्थको हृदयहारी अभिलेखन भएको टिप्पणी गरे । प्रा डा कोइरालाले कृतिमाथि समीक्षा गर्नुभयो भने साहित्यकारहरू अनिता कोइराला, अनिता पन्थी, लक्ष्मण वियोगी, शरद् प्रधानले टिप्पणी गरे ।
एक सय ७२ पृष्ठको उक्त उपन्यासमा ३४ वटा अध्याय छन् । शून्यबाट सुरु हुने जीवन ३२ लक्षणले पूर्ण भए पनि आखिर पुनः शून्यमै अन्त्य हुन्छ भन्ने वास्तविकता प्रस्तुत छ । बजार मूल्य रु ३७५ निर्धारण गरिएको उपन्यासको पहिलो संस्करणमा ५०१ प्रति छापिएका जनाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij