तनहुँ : मुग्लिङ–पोखरा सडक आयोजनाको पूर्वी खण्डमा तीव्र गतिमा काम अगाडि बढिरहेको छ। आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर सडक चार लेनमा कालोपत्रे सम्पन्न भइसकेको छ।
उनका अनुसार डुम्रे र दमौली बजार क्षेत्रमा भने ६ लेनको सडक बनाइएको छ। “मेजर कामहरू सबै सकिएका छन्। अब एप्रोच रोड, सडक सुरक्षाका उपायहरू र ट्राफिक संकेत जडान जस्ता छिटपुट काम मात्र बाँकी छन्,” प्रमुख भण्डारीले जानकारी दिए।
सडक निर्माणसँगै मादी नदीमा निर्माणाधीन चार लेनको मोटरेबल पुलले पनि पूर्वी खण्डलाई थप आकर्षक बनाएको छ। निर्माण व्यवसायीका प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा ३१८ मिटर लामो पुल निर्माण भइरहेको छ।
यो पुल पृथ्वी राजमार्गमै सबैभन्दा लामो ‘आर्क डिजाइन’को मोटरेबल पुल हो। मुग्लिङ–पोखरा सडक आयोजनाका अनुसार यो नेपालमै पहिलो चार लेनको मोटरेबल पुल हो। पुलको कुल लागत १ अर्ब २१ करोड रुपैयाँ रहेको छ। ‘डिजाइन एण्ड बिल्ड’ मोडलअन्तर्गत निर्माण भइरहेको यस पुलको डिजाइन नेपाली निर्माण कम्पनीले नै तयार पारेको हो। एएनके निर्माण सेवा र चिनियाँ निर्माण कम्पनीको संयुक्त ठेक्कामा निर्माण भइरहेको पुलको करिब ५ वर्षसम्म मर्मत तथा संरक्षणको जिम्मा निर्माण कम्पनीले लिनेछ।
मुग्लिङ–पोखरा सडक आयोजनाको पूर्वी खण्ड निर्माण सम्पन्न भएपछि पृथ्वी राजमार्ग हुँदै पोखरा जाने यात्रामा थप सहजता र सुरक्षाको प्रत्याभूति हुने अपेक्षा गरिएको छ।


© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij