Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सुनचाँदी व्यवसायीलाई सरकारले बेवास्ता गर्नुहुँदैन : सांसद बराइली

सुनचाँदी व्यवसायीलाई सरकारले बेवास्ता गर्नुहुँदैन : सांसद बराइली

चितवन : सुनचाँदी व्यवसायीहरूको मागअनुसार सरकारसँग महासंघ र संघर्ष समितिको सहमति हुन नसकेको माओवादी केन्द्र निकट प्रतिनिधिसभा सदस्य रणेन्द्र बरालीले बताउनुभएको छ। नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले शुक्रबार उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आयोजित छलफल तथा भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो।

उहाँले सुनचाँदी व्यवसायीहरूले नगदमा सहमति खोजिरहेको बेला महासंघ र संघर्ष समितिले उधारोमा सहमति गर्नाले सुनचाँदी व्यवसायमा समस्या सिर्जना भएको बताउनुभयो। साथै, राज्यको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने सुनचाँदी व्यवसायलाई कमजोर पार्ने खेलमा सरकार रहेको उहाँको आरोप छ।

त्यस्तै, बागमती प्रदेश सभा सदस्य ईश्वर सापकोटाले बिचौलियाहरूको चलखेलका कारण सुनचाँदी व्यवसायीहरू समस्यामा परेको बताउनुभयो। उहाँले सरकारको कर नीतिलाई व्यवसायमाथिको आक्रमणको रूपमा व्याख्या गर्दै व्यवसायीहरूको जायज मागलाई प्रदेश सभामा प्राथमिकताका साथ उठाउने र सरोकारवाला, व्यवसायी तथा उद्योगीहरूलाई एकजुट भएर आवाज उठाउन आग्रह गर्नुभयो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य शंकर इशु पोख्रेलले सुनलाई नेपालीको धर्म, संस्कृति र जीवनशैलीसँग जोडिएको वस्तुको रूपमा उल्लेख गर्दै यसलाई विलासिताको वस्तुको रूपमा हेर्नु अनुचित भएको बताउनुभयो। सांस्कृतिक अनुष्ठान, चाडपर्व र शुभ कार्यमा सुनको आवश्यकता पर्ने भएकाले यसलाई लगानीयोग्य र अत्यावश्यक वस्तुको रूपमा लिनुपर्ने उहाँको भनाइ छ। भ्याट र विलासिता करले व्यवसायी, कालिगड, उपभोक्ता र सरकार सबैलाई असर गर्ने भएकाले बजेटमार्फत ल्याइएका नयाँ प्रावधान तत्काल खारेज गर्न उहाँले सरकारसँग माग गर्नुभयो।

उहाँले नेपाल सुनचाँदी व्यवसायी महासंघले व्यवसायीहरूको समस्या समाधानका लागि सरकारसँग छलफल गरिरहेको र जिल्ला संघले महासंघसँग परामर्श गरी आगामी कदम चाल्नुपर्ने बताउनुभयो।

यता, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष तथा सल्लाहकार टेकबहादुर विश्वकर्माले उद्योग वाणिज्य संघ चितवनले सुनचाँदी व्यवसायीहरूको मर्म नबुझेकोमा दुख व्यक्त गर्नुभयो। उहाँले सयौँ सुनचाँदी व्यवसायीहरू उद्योग वाणिज्य संघमा आबद्ध भए पनि उक्त संघले व्यवसायीहरूको समस्याप्रति मौन रहनुले यसको गरिमामाथि प्रश्न उठेको बताउनुभयो। साथै, राज्यलाई उच्च कर बुझाउने सुनचाँदी व्यवसायीप्रति सरकारको पूर्वाग्रह दुखद् भएको उहाँको भनाइ छ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेशका उपाध्यक्ष यमकुमार ल्वागुन, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष डा. यमबहादुर वि.के., सल्लाहकारहरू ज्ञानेन्द्रमान शाक्य, चित्रबहादुर विश्वकर्मा खाती र कमल रामदामले आ–आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले माननीय सांसदद्वय बराली र सापकोटालाई ज्ञापनपत्र हस्तान्तरण गर्नुभयो। कार्यक्रमको सहजीकरण संघका महासचिव गोपाल बहादुर वि.क. थापाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट