Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

सर्पको बासस्थान मासिँदै गएपछि घरभित्र भेटिन थाल्यो सर्पको गुँड रूपन्देहीमा एउटै घरबाट २३ वटा ‘बेबी कोब्रा’को उद्धार

सर्पको बासस्थान मासिँदै गएपछि घरभित्र भेटिन थाल्यो सर्पको गुँड रूपन्देहीमा एउटै घरबाट २३ वटा ‘बेबी कोब्रा’को उद्धार

सिद्धार्थनगर : रूपन्देहीको तिलोत्तमा–५, प्रेमनगरस्थित एकै घरबाट २३ वटा ‘बेबी कोब्रा’ को उद्धार गरिएको छ। एउटै घरमा यति ठुलो सङ्ख्यामा कोब्रा भेटिनु दुर्लभ मानिएको छ।

असार २२ गते डिलराम अर्याललाई आफ्नै भान्सा कोठामा सर्पले टोकेपछि सर्पको गुँड फेला पारेको हो। सर्प उद्धारकर्ताको टोलीले अर्यालको घरमा गुँड बनाएर बसेका ती सर्पलाई पाँच दिन लगाएर उद्धार गरेको हो।अर्याललाई सर्पले टोकेपछि खबर पाएर सर्प उद्धारकर्ता विशाल पाण्डेको टोली उनको घर पुगेको थियो। पाण्डेले सुरूमा ढोकामा एउटा कोब्रा देखेर उद्धार गरिएको हो।

अर्यालको घरभित्र खोजी गर्दा भान्सा कोठाको र्‍याकमुनि कोब्राले गुँड नै बनाएर बच्चा कोरलेको अवस्थामा भेटियो। त्यसपछि विशालसहितको टोलीले पाँच दिन लगाएर कुल २३ वटा कोब्राका बच्चालाई सुरक्षित रूपमा उद्धार गर्यो।

उद्धारकर्ता विशाल पाण्डेले भन्नुभयो, ‘पहिलो दिन पाँच वटा सर्पको उद्धार गरियो। पछि शङ्का लागेर र्‍याक फोरेर मुनि हेर्दा अरू थप सर्प भेटिए।’यो चुनौतीपूर्ण उद्धारमा उहाँका बुवा खिमलाल पाण्डे, भाइ विश्वास पाण्डे तथा टोलीका अन्य सदस्य सागर पाण्डे, नवीन पौडेल र युवराज तिवारी पनि खटिएका थिए।

पाण्डेका अनुसार, बच्चा सर्पलाई उद्धार गर्ने क्रममा घरको भुइँ भाँसिएकाले माउँ कोब्रा भने उम्किएको र अहिलेसम्म फेला परेको छैन। उहाँले भन्नुभयो, ‘माउँ सर्प ढोकाबाट छिरेर चरभित्र पस्यो। अनि त्यहीँ फुल पारेर बच्चा कोरल्यो। अनि त्यहीँ बच्चा हुर्किएर बाहिर निस्किएपछि बल्ल थाहा भयो। माउँ सर्प निकाल्न नसके पनि त्यो अब मर्‍यो होला।’

किचनको तल फुटेको ठाउँमा हेर्दा अन्य धेरै सर्प सल्बलाइरहेको देखिएपछि दोस्रो दिन तोडफोड गरेर बिहानदेखि बेलुकासम्म थप १२ वटा सर्प निकालेको डिलारामले बताउनुभयो। तेस्रो दिन थप ६ वटागरी २३ वटा सर्पको उद्धार गरिएको हो।

उद्धार गरिएका सबै सर्पलाई जङ्गलमा लगेर छाडिएको विशालका बुवा खिमलाल पाण्डेले बताउनुभयो। ‘किचन फोहोर पनि रहेछ,’ वन वाटिकाका अध्यक्ष समेत रहेका खिमलाल भन्नुहुन्छ,–‘त्यसमाथि फुटेको ठाउँमा सर्पले सुरक्षित स्थान ठानेर बसिरह्यो। त्यही फुल पारेर बच्चा निकाल्यो।’ तराइमा बढ्दो सहरी विकाससँगै सर्पको बासस्थान मासिँदै गएपछि र खानाको खोजीमा सर्प घरभित्र पस्न थालेका छन्।

१३ वर्षअघि पनि विशालका बुवा खिमलालले सोही घरबाट ११ वटा कोब्राका बच्चा उद्धार गरेको स्मरण गर्नुभयो। सर्पबाट बच्नका लागि घरवरिपरि झाडी सफा राख्न, दाउरा वा परालको थुप्रो व्यवस्थित गर्न र फोहोरमैला जम्मा हुन नदिन पाण्डेले सुझाव दिनुहुन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij