मकवानपुर: बागमती प्रदेश सरकारको सहयोगमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७, हटियामा प्रदेश प्रहरी अस्पताल निर्माण हुने भएको छ ।आन्तरिक मामिला तथा कानून मन्त्रालयको आठ करोड तीन लाख रुपैयाँको बजेटमा निर्माण हुने बागमती प्रदेश प्रहरी अस्पतालको मंगलबार शिलान्यास गरिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले अस्पतालको शिलान्यास गर्नुभएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयमार्फत कार्यान्वयन हुने यस आयोजना अन्तर्गत अस्पताल परिसरमा बहिरङ्ग विभाग, कर्मचारी आवास, अस्पताल परिसर कम्पाउण्ड, पार्किङ लगायतका संरचनाहरू निर्माण हुनेछन् ।प्रस्तावित ३० शैयाको अस्पताल भए पनि सम्झौता अनुसार पहिलो चरणमा २०८३ पुससम्म १५ शैयाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
शिलान्यास कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्का लगायतको उपस्थिति रहेको थियो ।
