Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

गण्डकी प्रदेशमा गुरुङ र मगर भाषा विधेयक पारित, चितवनका गुरुङ समुदायबीच खुशी साटासाट

गण्डकी प्रदेशमा गुरुङ र मगर भाषा विधेयक पारित, चितवनका गुरुङ समुदायबीच खुशी साटासाट

चितवन : गण्डकी प्रदेशमा गुरूङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्न बनेको विधेयक पारित भएपछि चितवनमा पनि खुसीयाली मनाइएको छ । सोमबार तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले कार्यक्रम नै आयोजना गरेर खुसीयाली मनाउनुका साथै गण्डकी प्रदेश सरकारलाई धन्यवादसमेत ज्ञापन गरेका छन् ।

महाबौद्ध गुम्बा तीनखोले परिसरमा भएको कार्यक्रममार्फत चितवनका गुरूङ समुदायले उक्त विधेयकलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन आवश्यक रहेको बताए। तमू ह्युल छोँज धीँका निवर्तमान केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरूङले सङ्घीयता लागू भइसकेपछि पनि धेरै समयको प्रयासपछि तमू ह्युलको प्रयास सफल भएको बताए। अब यसलाई कार्यान्वयन गराउने पाटो अर्को चुनौतीको पाटो भएको उनले बताए। अब बिस्तारै गुरूङ भाषालाई शैक्षिक क्षेत्रमार्फत पाठ्यक्रममै समेटेर लैजानुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ।

तमू ह्युल छोँज धीँका अग्रज नेता देवेन्द्र गुरूङले गण्डकी प्रदेशका स्थानीय तहले कानुन निर्माण गरेर विद्यालयहरुमा भाषा कक्षा सञ्चालन गर्नुपर्ने बताए । नजानेका बालबालिकालाई विद्यालय शिक्षामै समावेश गराएर गुरूङ भाषा पढ्ने वातावरण सिर्जना गर्न सके गण्डकी प्रदेश सरकारले गरेको निर्णयले सार्थकता पाउने उनले बताए। त्यसका लागि तमू ह्युल छोँज धीँको वर्तमान नेतृत्व जिम्मेवार बन्न आवश्यक रहेको उनको भनाइ छ ।

तमू ह्युल छोँज धीँ चितवनका पूर्वअध्यक्ष चन्द्रमान गुरूङले भने मातृभाषाको सिकाइ घरबाटै हुन आवश्यक रहेको प्रतिक्रिया दिए । आमाबाट बच्चाहरुले सिक्ने भाषा भएकै कारण मातृभाषा भनिएको उदाहरण दिँदै उनले बालबालिकाका लागि पहिलो पाठशाला घर र घरमा पनि पहिलो गुरु आमा भएको हुँदा आमाबाटै मातृभाषाको सिकाइमा प्रयास हुनुपर्ने सुझाव दिए ।

चितवन जिल्लामा करिब ५० हजार गुरूङको बसोबास रहे पनि अधिकांश गण्डकी क्षेत्रबाटै बसाइँसराइ गरी आएकाले बसाइँ चितवन भए पनि माया गण्डकीकै भएको तमू ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले बताइन् । त्यसकारण चितवनले खुसीयाली मनाउँदा गण्डकीमै खुसीयाली मनाएजस्तो महसुस हुने गरेको उनले बताइन् ।

गुरूङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउने कार्यमा केन्द्रीय अध्यक्ष भएर महत्त्वपूर्ण योगदान दिएको भन्दै तमू ह्युल छोँज धीँका निवर्तमान अध्यक्ष कर्णबहादुर गुरूङलाई गुरूङ समुदायको संस्कारअनुसार फेटा र खादामार्फत सम्मानसमेत गरिएको थियो ।

गुरूङ भाषाले सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने बाटो खुलेको खुसीयालीमा नाचगानसमेत गरिएको थियो । त्यसपछि भने दीप प्रज्वलन गरेर कार्यक्रमको समापन गरिएको तमू ह्युल छोँज धीँ चितवनका सचिव किशोर गुरूङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट