Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

सामाजिक सञ्जालबाट आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी, सचेत रहन विभागको आग्रह

सामाजिक सञ्जालबाट आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी, सचेत रहन विभागको आग्रह

काठमाडौँ : वैदेशिक रोजगार विभागले सामाजिक सञ्जालमा आकर्षक रोजगारीको प्रलोभन देखाएर भइरहेको ठगीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हालैका दिनमा फेसबुक, टिकटक, ह्वाट्सएपजस्ता प्लेटफर्म प्रयोग गरी कोरिया पठाइदिने भन्दै गैरकानुनी गतिविधि बढेको भन्दै विभागले एक विज्ञप्ति जारी गर्दै सर्वसाधारणलाई सचेत गराएको हो ।

विभागका प्रवक्ता चन्द्र बहादुर सिवाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ’हालका दिनहरूमा फेसबुक, टिकटक, भाइबर, युट्युब तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालहरूमा वैदेशिक रोजगारीमा पठाइदिने भनी विभिन्न प्रलोभनहरू सहितका विज्ञापन गर्ने, राम्रा र आकर्षक सुविधा भएको देशमा पठाइदिने भन्ने आश्वासन दिने, पैसा उठाउने तथा पासपोर्टहरू सङ्कलन गरेर दुःख दिने गरेको, साथै इ–७ भिसा मार्फत कोरिया पठाइदिन्छु भनि गैरकानुनी गतिविधि गरेको भन्ने सुन्न आएकोले सो विषयमा ध्यानाकर्षण भएको छ ।'

विभागले वैदेशिक रोजगार ऐन, २०६४ अनुसार सरकारले तोकेका मुलुकमा मात्रै इजाजत प्राप्त संस्था (म्यानपावर कम्पनी) मार्फत श्रम स्वीकृति लिएर नेपालकै विमानस्थल प्रयोग गरी जानुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ ।

कानुन विपरीत श्रम स्वीकृति नलिई, अर्कै मुलुकको विमानस्थल प्रयोग गरी वा गलत सूचना प्रवाह गरेर विदेश पठाउने कार्य गैरकानुनी भएको र यसले श्रमिकलाई विभिन्न जोखिममा पार्ने विभागले जनाएको छ ।

यसरी गैरकानुनी बाटोबाट विदेश जाँदा मानव तस्करी, श्रम शोषण र दुर्व्यवहारको खतरा झन् बढ्ने विज्ञप्तिमा उल्लेख छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन विभागले सबैलाई आग्रह गरेको छ । विदेश जानुअघि अनिवार्य रूपमा विभागबाट श्रम स्वीकृति लिएको यकिन गर्न, तोकिएको तालिम र स्वास्थ्य परीक्षण पूरा गर्न तथा नेपालकै विमानस्थल प्रयोग गर्न विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij