Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

किसानलाई खसी बोकाको बजारीकरण सघाउँदै सहकारी

किसानलाई खसी बोकाको बजारीकरण सघाउँदै सहकारी

दाङ : दाङको लमही नगरपालिका–९ रिहारका किसानले पालेका खसी बोका अहिले देशका विभिन्न सहरसम्म पुग्न थालेका छन्। यहाँका किसानहरूले उत्पादन गरेका खसी बोकालाई बजारीकरण गर्न कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको छ।

सहकारीकी अध्यक्ष देवीमाया थापाका अनुसार, सहकारीले आफ्ना सदस्य किसानहरूबाट ज्युँदो खसी प्रति किलो ५ सय रुपैयाँको दरले खरिद गर्दै दाङ, नेपालगन्ज, बुटवल, पोखरा र काठमाडौँसम्म पुर्‍याइरहेको छ।

रिहारमा बाख्रा पालनको राम्रो सम्भावना रहेकाले सहकारीले यस व्यवसायलाई व्यवस्थित रूपमा अगाडि बढाउने रणनीति बनाएको छ। थापाका अनुसार, सहकारीको सहयोगपछि बाख्रा पालनतर्फ किसानको आकर्षण उल्लेखनीय रूपमा बढेको छ।

हाल सहकारीसँग आबद्ध १५०० भन्दा बढी सदस्यका खसी बोकाको नियमित रूपमा बजारीकरण भइरहेको छ। सहकारीले बजार उपलब्ध गराइदिँदा किसानलाई बिक्रीको चिन्ता हटेको छ र उत्पादनमा आत्मविश्वास बढेको छ।

रिहारको भूगोल, वन स्रोत र हरियो घाँसको सजिलो उपलब्धता बाख्रा पालनका लागि अनुकूल मानिन्छ। सहकारीले दीर्घकालीन रूपमा प्रशिक्षण, पशु चिकित्सा सेवा, बिमा र प्रविधिको पहुँच विस्तार गर्ने तयारी समेत गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij