Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

पार्वतीपुरका बीउ उत्पादक ९८ किसानले पाए प्रोत्साहन रकम

पार्वतीपुरका बीउ उत्पादक ९८ किसानले पाए प्रोत्साहन रकम

चितवन: कृषि विकास कार्यालय चितवनले ‘बीउ बिजन आत्मनिर्भर कार्यक्रम’ अन्तर्गत भरतपुर–२१ पार्वतीपुरका ९८ जना बीउ उत्पादक किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ । साईपाल बीउ वृद्धि कृषक समूह तथा कम्पनीमा आबद्ध किसानहरूलाई क्षेत्रफल र उत्पादनको आधारमा रकम प्रदान गरिएको हो ।

भरतपुर–२१ स्थित कम्पनीको परिसरमा सोमबार आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी, वडा नं. २१ का अध्यक्ष कृष्ण कुमार गुरुङ र कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले संयुक्त रूपमा रकम हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा कार्यवाहक प्रमुख अधिकारीले आफैं पनि खेती गर्दै आएको उल्लेख गर्दै भने, “म जनप्रतिनिधि भए पनि आफ्नै खेती गर्छ ु। पछि जनप्रतिनिधि नभए पनि खेतीमै लाग्छु।” उहाँले किसानहरूलाई अग्र्यानिक उत्पादनतर्फ अघि बढ्न सुझाव दिनुभयो ।

कृषि विकास कार्यालयका प्रमुख कँडेलले असारको अन्त्यमा प्रदान गरिएको रकम किसानका लागि खेतीयोग्य समयमा राहत बन्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा थप किसान लक्षित कार्यक्रम सञ्चालन गरिने र अन्य स्थानका किसानलाई समेत रकम वितरण भइरहेको जानकारी दिनुभयो ।

कृषि अधिकृत उमराज अर्यालले बजेट प्राप्त भएसँगै रकम वितरण सुरु गरिएको बताउँदै भन्नुभयो ,“जग्गाको मूल्याङ्कनका आधारमा रकम तोकिएको हो। कतिपय किसानका कागजात नपुगेकाले वितरणमा समस्या भएको छ ।” वडाध्यक्ष गुरुङले किसानहरूलाई जग्गासम्बन्धी कागजात व्यवस्थित गर्न आग्रह गर्नुभयो। उहाँले खेत तथा भाडामा लिएको जमिनमा कृषि गर्नुभएका किसानले प्राविधिकसँग सल्लाह गरेर खेती गर्नु उपयुक्त हुने धारणा राख्नुभया े।

साईपाल बीउ वृद्धि कृषक कम्पनीका अध्यक्ष पुण्य प्रसाद अधिकारीले प्रोत्साहन रकमले किसानलाई प्रत्यक्ष रूपमा राहत मिलेको बताउँदै यस्तो कार्यक्रम भविष्यमा पनि निरन्तर चलिरहने विश्वास व्यक्त गर्नुभयो। सचिव नारायण बरालले यहाँका ७० प्रतिशत किसानले भाडामा जमिन लिएर खेती गरिरहेको बताउँदै कागजातको अभावले सरकारी कार्यक्रममा सहभागी हुन कठिनाइ हुने समस्या औंल्याउनुभयो।

कार्यक्रममा कृषि विज्ञ, बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि र किसानहरूको उल्लेखनीय उपस्थिति थियो । रकम पाएका किसानहरूले यस्तो कार्यक्रमले आफ्नो मेहनतको सम्मान भएको अनुभूति गराएको प्रतिक्रिया दिएका छन्। किसान कमला कुमारी विकले प्रोत्साहनले आगामी दिनमा अझ लगनशील भएर काम गर्न प्रेरणा दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट