’रत्ननगर : वडा कार्यालयको सहयोगमा सडक दुर्घटना न्यूनीकरण, लागूऔषध ओसारपसार नियन्त्रणका लागि रत्ननगर–३, शान्तिचोकमा स्मार्ट प्रहरी चेक पोइन्ट उद्घाटन भएको छ ।रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटा र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले पूर्वपश्चिम राजमार्गको शान्तिचोकमा चेक पोइन्ट उद्घाटन गरेका हुन् ।
चेक पोइन्ट उद्घाटन गर्दै कार्यक्रमका प्रमुखअतिथि नगरप्रमुख सापकोटाले नगरवासीको सुरक्षामा खटिएका प्रहरीलाई स्थानीय सरकारले सहयोग गर्दै आएको र टिकौलीमा पनि चेक पोइन्ट राख्न आग्रह गर्दै त्यसका लागि नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पुरीले जिल्लाको शान्ति सुरक्षाका लागि प्रहरीका सबै संयन्त्र प्रयोग गरिएको बताए । उनले सुरक्षाको सवालमा कसैसँग सम्झौता नगरी काम गरिएको र त्यसको परिणाम पनि देखिन सुरू भएको उल्लेख गरे ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक रन्जन अवाले सडक दुर्घटना न्यूनीकरण, लागूऔषध ओसारपसार नियन्त्रण र समग्र जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी स्मार्ट प्रहरी चेक पोइन्ट स्थापना गरिएकोे बताए ।यस्तै, रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलले सडक सुरक्षा, लागूऔषध ओसारपसार नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरी चेक पोइन्ट कोसेढुङ्गा साबित हुने बताए ।वडाका सदस्य शिव खनालले सञ्चालन गरेको कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्मा, वडा सदस्यहरु ईश्वर जमकट्टेल, वैशाखनी थरुनी, देवी सुनारलगायतको सहभागिता रहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij